सीईयो क्लब ग्लोबल र कतार एयरवेज बिच सम्झौता |
काठमाडौं । सीईयो क्लब ग्लोबल नेपाल च्याप्टर र कतार एयरवेज बिच साझेदारी सम्झौता सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका विच सीईयोे क्लब ग्लोबल नेपाल चेप्टर र कतार एयरवेज विच सम्झौता भएको हो । कार्यक्रममा कतार एयरवेजका तर्फबाट सरिक बोगटि र सीईयो क्लब ग्लोबल नेपाल चेप्टरका तर्फबाट डा. शम्भु पोखरेलले सम्झौतामा हस्ताक्षर गरे ।
अब सीईयो क्लब ग्लोबलका सदस्यहरुले कतार एयरवेजको भाडामा १० प्रतिशत छुट पाउने भएका छन् भने कतार एयरवेजले पनि सीईयोे क्लब ग्लोबलका सदस्य रहेका नेपालका उत्कृष्ट यात्रीहरुलाई सेवा दिन पाउने भएको छ ।
सीईयो क्लब ग्लोबल अमेरिकाको न्यूयोर्कमा हेडक्वार्टर रहेको र १०० भन्दा बढि देशमा नेटवर्क रहेको संस्था हो । विशेषत सदस्यहरुलाई विशिष्टिकृत सेवा दिने र राष्ट्रिय तथा अन्तराष्ट्रिय तहका सम्बन्ध स्थापित गराईदिने काम सीईयो क्लब ग्लोबलले गर्दछ । निजी क्षेत्रका नेतृत्वदायी व्यक्ति तथा संस्थाहरु, कुटनीतिक नियोगका प्रमुख(राजदुत) हरु, सरकारी उच्च ओहदाका व्यक्तिहरु र विश्व प्रसिद्ध व्यक्तिहरु सदस्य रहने यस क्लबमा हाल विश्वभर १० हजारभन्दा बढि सदस्य रहेका छन् ।
आमन्त्रणबाट मात्रै सदस्यता पाउने र निजी क्षेत्रको हकमा १ मिलियन डलर (करिब १२ करोड रुपैंया) बराबरको कारोवार भएका व्यक्ति वा कम्पनीले मात्रै सीईयो क्लब ग्लोबलको सदस्यता पाउने व्यवस्था छ । सीईयो क्लब ग्लोबलमा सदस्यताका लागी ५ हजार अमेरिकी डलरदेखि २ लाख अमेरिकी डलरसम्मको विभिन्न तहका सदस्यताहरुको व्यवस्था रहेको छ ।


