नेपाल बैकर्स एसोसिएसनका अध्यक्ष एवम् कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले माघ महिनामा पनि व्याज दरको विषयमा बैकर्स साथीहरुको राय बुझ्ने काम भइरहेको बताए । उनले भने –‘सबैले निक्षेपको व्याज बढाउने भन्दा पनि अघिल्लो महिनाकै व्याज नै कायम राख्ने भन्ने विचार आइरहेको छ किनभने निक्षेप पनि बढेको छैन । कस्ट मात्र बढाएर मूल्य वृद्धिमा असर गर्छ कि भन्ने छ । निक्षेपको व्याज बढाउना साथ अरुलाई पनि असर गर्छ ।’
पछिल्लो समय सरकारी खर्चहरु भइरहेको, पुनकर्जाको रकम निक्षेपमा गणना गर्न सुविधा पाएको एवम् बैंकहरुले पनि नियन्त्रित रुपमा कर्जा वितरण गरेकाले कम्फरटेबल पोजिसनमा देखिएको उनले बताए । उनले थपे – ‘पुसको मसान्तमा करहरु तिरिसकेपछिको अवस्था के हुन्छ त्यसपछि नै केही भन्न सकिन्छ ।’
बैंकहरुले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५८ प्रतिशत भन्दा बढीले कर्जा वृद्धि गरिसकेकाले आगामी दिनमा निक्षेप बढेको अनुपातमा मात्रै कर्जा विस्तार गरे पनि बाँकी वार्षिक लक्ष्य भेट्ने उनले आँकलन गरे ।
बैंकहरुले जस्तै विकास बैंकले पनि माघ महिनाको लागि निक्षेपमा व्याज नबढाउने प्रारम्भिक छलफल अघि बढाएका छन् ।
फाइनान्सको पनि व्याज नबढाउने अनौपचारिक कुराकानी भइरहेको छ । एक फाइनान्स कम्पनीको प्रमुख कार्यकारीका अनुसार निक्षेपमा व्याज अघिल्लो महिनामा व्याजलाई नै यथास्थितिमा राख्ने विषयमा छलफल भइरहेको छ । बेस रेट घटाउनलाई निक्षेपको व्याज दर घटाउँदा फेरि पनि अरुले निक्षेप लगिदिने भए हुनाले यो अझै प्रत्युत्पादक हुने उनले बताए ।