ओमिक्रोनका कारण पर्यटक आगमन घट्यो, वर्षभरिमा डेढ लाख पर्यटक भित्रिए |
काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको पहिचान सँगै पर्यटक आगमनमा पुनः गिरावट आउन थालेको छ। अक्टोबर र नोभेम्बरमा पर्यटकको आवागमनमा उल्लेख वृद्धि देखिए पनि डिसेम्बरमा पुनः गिरावट आएको हो ।
कोरोना महामारीको प्रभाव कम हुँदै गएपछि नेपालले पुर्ण खोप लगाएका विदेशी पर्यटकलाई क्वारेन्टाइनमा बस्नु नपर्ने व्यवस्था गरेर नेपाल भ्रमणको लागि खुला गरेको थियो । सरकारले पूर्ण खोप लगाएका विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने र क्वारेन्टाइन बस्नु समेत नपर्ने गरी ट्राभल एडभाइजरीमा संशोधन गरेपछि उत्साहजनक रुपमा विदेशी पर्यटकको वृद्धि देखिएको थियो । नेपालले असोज ५ गते अर्थात सेप्टेम्बर २१ मा ट्राभल एडभाइजरीमा सशोधन गरेको हो । सो महिना हवाई मार्गबाट ९ हजार ८ सय ९८ जना विदेशी पर्यटक नेपाल आएका थिए । ट्राभल एडभाइजरी जारी गरेपछि अक्टोबरमा २३ हजार २ सय ८४ जना र नोभेम्बरमा २६ हजार २ सय ८४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए जुन सेप्टेम्बर महिनाको तुलनामा दोब्बर भन्दा बढी हो तर डिसेम्बरमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लागेपछि भने फेरि पर्यटक आवागमनमा गिरावट आउन थालेको हो ।
पर्यटन बोर्डको तथ्यांक अनुसार डिसेम्बरमा २४ हजार ६ सय ७९ ले मात्रै नेपाल भ्रमण गरेको छ । युरोेप, अमेरिकालगायतका एसियाका विभिन्न देशहरुमा समेत ओमिक्रमको संक्रमण बढ्ने त्रासमा हवाई उडान रद्द गरिएका छन् । त्यसको प्रत्यक्ष असर नेपालको पर्यटक आगमनमा परेको नेपाल पर्यटन बोर्डका निर्देशन मणिराज लामिछानेले बताए । नेपालले कोरोनाको संक्रमण दर विस्तारै घट्दै गएपछि ट्राभल एडभाइजरीमा संशोधन गरेपछि पर्यटक आगमनमा सुधार देखिए पनि फेरि देखिएको नयाँ भेरियन्टले आगमन दरमा कमी आएको हो । कोरोनाको नयाँ भेरियन्टको आगमन नहुँदो हो त अहिले पर्यटक आगमनमा धेरै सुधार हुने अपेक्षा पर्यटक व्यवसायीहरुको थियो ।
सन् २०२१ भरिमा डेढ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन्। कोभिड महामारीको लकडाउन गर्नु परेका कारण यस वर्ष पनि पर्यटक आगमनमा खासै सुधार नदेखिएको हो । पर्यटन बोर्डका अनुसार २०२१ भरिमा १ लाख ५० हजार ९ सय ६२ जनाले नेपाल भ्रमण गरेका छन् । कुल पर्यटकको दक्षिण एसियाको हिस्सा झन्डै आधा रहेको छ । दक्षिण एसियाबाट मात्रै ४७.४४ प्रतिशत अर्थात ७१ हजार ६ सय १० जनाले नेपाल भ्रमण गरेका छन् । दक्षिण एसियामा पनि सबैभन्दा बढी हिस्सा भने भारतको नै रहेको छ । कुल दक्षिण एसियाली पर्यटकमध्ये झन्डै ९३ प्रतिशत अर्थात ६४ हजार ६ सय ७३ जना भारतीयले नेपाल भ्रमण गरेका छन् । नेपालको सीमा जोडिएका बिहारलगायतका भारतीय शहरहरुमा जाँड रक्सी निषेधित गरिएकाले पनि नेपालको पर्यटक आगमनमा भारतीयको हिस्सा बढी देखिन आएको पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् ।
दक्षिण एसियापछि नेपाल सबैभन्दा बढी अमेरिकी पर्यटकको आवागमन बढी देखिएको छ । सन २०२१ को तथ्यांक अनुसार अमेरिकाबाट गत वर्ष २२ हजार ८ सय ५३ जना पर्यटक नेपाल भ्रमणको लागि आएको छ । यो कुल विदेशी पर्यटकको १५.१४ प्रतिशत हो ।
दक्षिण एसियापछि नेपालको लागि तेस्रो ठूलो पर्यटन बजारको रुपमा युरोपेली देशहरु रहेका छन्ु । गत वर्ष युरोपेली देशहरुबाट २५ हजार ३ सय ५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । युरोपेली देशमध्ये बेलायत, फ्रान्स, जर्मनी, रसिया, स्पेन नेदरल्यान्डलगायतका जस्ता देशहरुबाट उल्लेख्य मात्रामा पर्यटकको आवागमन भएको तथ्यांक छ । बेलायतबाट ८ हजार ६ सय ८०, जर्मनीबाट २ हजार ९ सय ३१, फ्रान्सबाट २ हजार ८ सय २९, रसियाबाट २ हजार १ सय ७, नेदरल्यान्डबाट १ हजार ३ सय ३ जना पर्यटक नेपाल आएका छन् ।
नेपालको अन्य ठूलो बजारमा भने फेरि पनि दक्षिण एसियाइतरका एसियाली देशहरु नै रहेका छन् । सामान्य समयमा भने चीनबाट नेपाल भित्रिने पर्यटकको संख्या कुल पर्यटकको २५ प्रतिशतको हाराहारीमा हुने गरेको थियो । चीनले कोरोना महामारीको कारण देखाउँदै आफ्ना नागरिकलाई विदेश भ्रमण गर्न एकदमै ठूलो अवरोध खडा गरेको भए पनि जोखिम मोलेरै भए पनि ६ हजार १ सय ९६ जना चिनियाँले नेपाल भ्रमण गरेको बोर्डको तथ्यांक छ ।


