चेम्बरको ७० औ वार्षिकोत्सवको अवसरमा प्रकाशित हुलाक टिकटको प्रथम दिवशीय आवरणमा टाँचा प्रदान |
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७० औ वार्षिकोत्सवको अवसरमा प्रकाशित रु ५ दरको हुलाक टिकटको प्रथम दिवशीय आवरणमा संचार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीबाट प्रथम दिवशीय टांचा प्रदान गर्ने कार्य सम्पन्न भएको छ ।
चेम्वर भवनमा आयोजित उक्त कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्वरले बिगत ७० वर्ष देखि मुलुकको आर्थिक क्षेत्रमा प्रदान गरेको योगदानलाइ कदर गर्दै संस्मरणान्मक हुलाक टिकट प्रकाशन गरी दिएकोमा संचार तथा सूचना प्रबिधि मन्त्रालयलाइ आभार प्रकट गरे ।
सो क्रममा मल्लले नेपाल चेम्बर अफ कमर्सको स्थापना वि.स. २००७ सालमा भएको र सबै भन्दा पुरानो र अग्रणी वाणिज्य संगठनको रूपमा रहेको नेपाल चेम्वर अफ कमर्स नेपाली व्यावसायीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी घरेलु तथा विश्व बजारमा नेपाली व्यापार क्षेत्रको दिगो विकास गर्ने कार्यमा क्रियाशील रहेको बताए ।
नेपाल चेम्बर अफ कमर्स “चेम्बर अभियान” लाई विस्तार गर्न र व्यावसायिक क्षेत्रको सशक्तीकरणका लागि प्रतिबद्ध रहेको बताउँदै निजी र सरकारी क्षेत्र बिच समन्वयकारी भूमिका निर्वाहमा चेम्वरको अहम भूमिका रहेको बताए ।
संचार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले प्रजातन्त्र वहाली पश्चात ७ दशक अघिनै मुलुकमा सुशासन मार्फत राज्यले आर्थिक समृद्धिको लक्ष लिएको र सो उद्धेश्य हाशिल गर्न हामी सवैको लक्ष समान रहेको बताए । हामी एक जुट भएर लाग्यौ भने आर्थिक समृद्धि हाशिल गर्न धेरै समय नलाग्ने बताउँदै आगामी दिनमा चेम्वरको सफलताको कामना गरे ।


