आइपुग्यो ५० लाख सिरिन्ज |
काठमाडौं । कोभिड–१९ विरुद्धको खोपमा प्रयोग हुने ५० लाख थान सिरिन्ज नेपाल आइपुगेको छ ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार संयुक्त राष्ट्रसंघीय विशिष्ट एजेन्सी युनिसेफको अनुदान सहयोगमा उक्त परिमाणको सिरिन्ज शुक्रबार नेपाल आइपुगेको हो ।
प्राप्त सिरिन्जलाई बाराको पथलैयास्थित खोप भण्डारण केन्द्रमा राखिएको उनले बताए । सिरिन्ज प्राप्त भएसँगै अभाव देखिएका प्रदेशहरुमा पथलैयाबाटै वितरण गरिने उनको भनाइ छ ।
प्राप्त कोरोना खोपको अनुपातमा सिरिन्ज कम उपलब्ध हुँदा प्रदेश १ को खोप कार्यक्रम प्रभावित बनेको थियो । अन्य प्रदेशहरुले पनि सिरिन्ज सकिन लागेको रिपोर्टिङ खोप आपूर्ति शाखामा गराएका थिए ।


