वैदेशिक व्यापार ६३ प्रतिशतले बढ्यो, डिजेल उच्च आयात हुँदा सुन आठौ स्थानमा |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालले ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। यस वर्ष आयात बढ्दा नेपालको वैदेशिक व्यापार बढ्दै गएको हो।
भन्सार विभागको अनुसार गत वर्षको यसै अवधिमा ५ खर्ब ७५ अर्ब ५५ करोड ३७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेकोमा यस वर्ष यस्तो व्यापार ६३.५५ प्रतिशतले बढेको हो।
यस वर्ष आयात ह्वातै बढेको छ। गत वर्षको कार्तिक मसान्तसम्ममा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो गत वर्षको तुलनामा ५९.५५ प्रतिशत धेरै हो। चालु आर्थिक वर्षको सुरुवातमा आयात निकै बढेको भए पनि पछिल्लाे समय भने केहि घट्न थालेको विभागको तथ्याँकले देखाउछ।
आयात निकै बढ्दा धेरै पैसा बाहिरिएको थियो। यसले गर्दा पछिल्लाे समय बैंकिङ्ग प्रणालीमा तरलता अभाव देखिदै आएको छ। यसै कारण केन्द्रिय बैंकले केहि दिन अघि आयातलाई केहि कम गर्न केहि वस्तुहरुमा शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ।
यसैगरी यस वर्ष निर्यात पनि शतप्रतिशतभन्दा धेरैले बढेको छ। कार्तिक महिनासम्ममा १ खर्ब २ अर्ब ९२ करोड ५ लाख रुपैयाँको वस्तु निर्यात भएको छ। गत वर्षको यसै अवधिमा ५० अर्ब ५ करोड रुपैयाँको वस्तु निर्यात भएकोमा यस वर्ष निर्यात १०५.६१ प्रतिशतले बढेको हो।
आयात उच्च दरले बढ्दा नेपालको वैदेशिक व्यापार घाटा पनि निकै बढेको छ। गत वर्ष कार्तिकसम्ममा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ व्यापार घाटा रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा यस्तो घाटा बढेर ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ पुगेको तथ्याँकले देखाउँछ। यो गत वर्षको तुलनामा ५४.७० प्रतिशतले धेरै हो।
यी हुन धेरै आयात हुने वस्तु
कार्तिक महिनासम्मको तथ्याँक हेर्दा डिजेल, सोयाविन तेल, पाल्म तेल, पेट्रोल र ग्याँस सबैभन्दा धेरै आयात भएको देखिन्छ।
यस अवधिमा डिजेल सबैभन्दा धेरै ४९ अर्ब २ करोड रुपैयाँ बराबरको आयात भएको छ भने सोयाविन तेल ३३ अर्ब ६६ करोड रुपैयाँको आयात भएको छ। यस्तै पाल्म तेल २४ अर्ब ६१ करोड रुपैयाँको आयात भएको छ भने पेट्रोल २४ अर्ब १० करोड रुपैयाँको आयात भएको छ।
यसैगरी, एलपि ग्याँस पनि २३ अर्ब ११ करोड रुपैयाँको आयात भएको छ। पाँच महिनामा १८ अर्ब ८६ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ भने चाँदी पनि १२ अर्ब ५१ करोड रुपैयाँको आयात भएको छ।
यस्तै निर्यात तर्फ सोयाविन तेल सबैभन्दा धेरै ३० अर्ब ५५ करोड रुपैयाँको निर्यात भएको छ।
यस अवधिमा आयात हुने सामानबाट सरकारले २ खर्ब १७ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।


