एनसीएचएल डिजिटल सर्भिसेज आईसीटी अवार्ड्स २०२१बाट सम्मानित |
काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) लिमिटेड डिजिटल सर्भिसेज आईसीटी अवार्ड २०२१ बाट सम्मानित भएको छ । लिभिङ विथ आईसीटीद्वारा वार्षिक रूपमा आयोजना गरिँदै आएको आईसीटी अवार्ड २०२१ अन्तर्गत डिजिटल सर्भिसेज विधामा एनसीएचएल सम्मानित भएको हो ।
यही २ पुसमा आयोजन गरिएको उक्त अवार्ड समारोहमा १२ वटा विधा रहेकोमा आ–आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान गर्ने सर्वोत्कृष्ट व्यक्तित्व, संस्था एवं प्रोडक्टलाई अवार्ड प्रदान गरिएको हो ।
डिजिटल रुपान्तरणका लागि प्रमुख भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरू स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्याउँदै आएका महत्त्वपूर्ण योगदानहरूको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको आयोजकले जानकारी दिएका छन् ।
भुक्तानीका पूर्वाधारहरू निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ, अन्तरबैंक विद्युतीय भुक्तानी, कनेक्ट आईपीएस ई–पेमेन्ट, कनेक्ट आरटीजीएस, नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) र कर्पोेरेट पेलगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरू सञ्चालन गरी डिजिटल पेमेन्टको क्षेत्रमा सेवा पुर्याउँदै आएको छ ।
एनसीएचएलले आर्थिक वर्ष २०७७/७८ मा १३० खर्बबराबरको विद्युतीय कारोबार फर्छ्योट गरेको थियो भने यस आर्थिक वर्षको मंसिर मसान्तसम्म ६५ खर्बभन्दा बढीको कारोबार फर्छ्योट गरेको छ, जसअन्तर्गत नेपाल सरकारका विभिन्न निकायहरू, संस्थानहरू, पुँजीबजार, बीमा, रेमिट्यान्स, ठूला संस्थाहरूलगायतका विभिन्न रिटेल भुक्तानीका कारोबारहरूलाई सहजीकरण गर्दै आएको छ ।
हालै विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्यूआर कोडलगायतका विद्युतीय भुक्तानीका माध्यमबीच अन्तरआबद्धता कायम गर्दै नेपालभित्र हुने कारोबारको भुक्तानी र फरोफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्डसमेत प्रयोगमा ल्याउन एनसीएचएलले नेसनल पेमेन्ट स्वीचको कार्यान्वयनसमेत थालनी गरेको छ ।
डिजिटल सर्भिसेज आईसीटी अवार्ड २०२१ ले एनसीएचएललाई आफूले गर्दै आएका कामप्रति थप जिम्मेवारी बोध गराउनुका साथै उक्त कार्यलाई निरन्तरता दिन र नयाँ इन्नोभेटिभ प्रोडक्टहरूको विस्तार गर्न थप प्रोत्साहित गरेको कम्पनीको भनाइ छ ।


