संघीय सरकारको संचीत कोष १ खर्ब ७ अर्बले धनात्मक | महालेखाले अर्थमन्त्रीलाई बुझायो लेखा परीक्षण प्रतिवेदन
काठमाडौं । आर्थिक वर्ष २०७७∕७८ मा सरकारको राजश्व संकलन ८२ दशमलव ८१ प्रतिशत भएको छ । कुल राजश्वमध्ये करतर्फ ९ खर्ब १२ अर्ब९४ करोड ९० लाख र अन्य कर राजश्व रकम १ खर्ब ५९ अर्ब ३३ करोड ७१ लाख गरी कुल रु. १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख राजश्व संकलन गर्ने लक्ष राखेकोमा कुल ८ खर्ब ८८ अर्ब १ करोड ४२ लाख राजश्व संकलन भएको हो ।
मंगलवार महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्त्री जनार्दन शर्मासमक्ष पेश गरेको आर्थिक वर्ष २०७७÷७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।
प्रतिवेदनका अनुसार कुल विनियोजन रकम रु १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाखको ८१ दशमलव १५ प्रतिशत रकम अर्थात ११ खर्ब ९६ अर्ब ६० करोड ३० लाख खर्च भएको छ ।
यस्तै आर्थिक वर्ष २०७७∕७८ को कुल खर्चमा नेपाल सरकारको श्रोतबाट ८२ दशमलव ३२ प्रतिशत तथा कुल खर्चको १७ दशमलव ६८ प्रतिशत बैदेशिक स्रोतबाट व्यहोरिएको छ । उक्त बैदेशिक स्रोतमा अनुदानको हिस्सा ३ दशमलव ४ प्रतिशत र ऋणको हिस्सा १४ दशमलव ६४ प्रतिशत रहेको छ ।
आ.व.२०७७∕७८ मा संघीय सरकारको संचीत कोषमा रु. १२ खर्ब ६७ अर्ब ४९ करोड ८८ लाख प्राप्ति र खर्च ११ खर्ब ६० अर्ब ३३ करोड ३३ लाख भुक्तानी भई चालु आ.व. कोष अवस्था १ खर्ब ७ अर्ब १६ करोड ५४ लाखले धनात्मक रहेको छ।


