तीन महिनामा भित्रियो २ खर्ब ३९ अर्ब रेमिट्यान्य |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार असोजसम्ममा २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
यो अघिल्ले वर्षको सोहि अवधिको तुलनामा ७.६ प्रतिशतले कम हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ। ३ महिनामा ६६ हजार ३१६ जनाले यस्तो स्वीकृति लिएका छन। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा बढेर ३४ हजार ८२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ८.१ प्रतिशतले घटेर २६३ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १०.२ प्रतिशतले बढेको थियो ।


