सूर्योदय लघुवित्तको नाफा उल्लेख्य बढ्यो |
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ करोड ६ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड १८ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढेसँगै उल्लेख्य खराब कर्जा उठाउन सफल भएपछि लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८.९८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २२१.८१ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तले सो अवधिसम्ममा ३ करोड ३३ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १५.३५ प्रतिशत बढेको छ भने जगेडा कोष ६७.१३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ७१.४८ प्रतिशत र निक्षेप २८.५६ प्रतिशत बढेको छ भने कर्जा ६१.१० प्रतिशत बढेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँबाट २७ रुपैयाँ ४१ पैसा बढेर ४९ रुपैयाँ ४१ पैसा पुगेको छ। असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ३२ पैसा रहेको छ।


