आजबाट खाद्यका खसीबोकाको बिक्री सुरू, मूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ |
काठमाडौँ । हरेक वर्ष झैँ सरकारले यो वर्ष पनि काठमाडौँमा सहुलियत दरमा खसीबोका बिक्री शुरु गरेको छ । यो वर्ष खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकिएको छ । आज (शनिबार) बाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत खसीबोका बिक्री सुरु हुँदै छ । जसको बिक्रीमूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
विभागका अनुसार खसीबोकाको निर्धारित मूल्य प्रतिकिलो ६ सय ५० रुपैयाँ हो । प्रतिकिलो १० रुपैयाँ छुट दिएर बिक्री मूल्य ६ सय ४० रुपैयाँ तोकिएको हो। खाद्य कम्पनीका अनुसार शुक्रबारसम्म करिब ७ सय ३० खसीबोका काठमाडौँ ल्याई सकिएको छ । यी खसीबोका तुलसीपुर र मकवानपुरबाट भित्र्याइएको हो ।
खाद्य कम्पनीले दाङ क्षेत्रबाट २५ किलोदेखि माथिका खसी प्रतिकिलो ५ सय ६५ रुपैयाँ, २० देखि २५ किलोका खसी प्रतिकिलो ५ सय ५० रुपैयाँ र बोका प्रतिकिलो ५ सय ४५ रुपैयाँमा खरिद गरेको हो । उक्त खरिद मूल्यमा प्रतिकिलो झन्डै सय रुपैयाँ जोडेर बिक्री मूल्य तय भएको छ ।
खाद्य कम्पनीले गत वर्ष खसीबोका र च्याङ्ग्रा गरी करिब ३ हजार वटा खरिद∕बिक्री गर्ने लक्ष्य राखेको थियो । तर १ हजार ५ सय १ वटा खसीबोका मात्रै किनबेच गरेको थियो । यसपालि पनि २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा खरिद गर्ने लक्ष्य राखिए पनि कम्पनीले च्याङ्ग्रा खरिद गर्न नसक्ने जनाएको छ । व्यवसायीका अनुसार कलंकीमा प्रतिकिलो ६ सय ३० रुपैयाँदेखि ७ सय रुपैयाँसम्ममा छानीछानी खसीबोका किन्न सकिन्छ । तर सरकारले छुटका नाममा बजारभाउसरह नै मूल्य तोकेको छ ।


