बिमा बजार थप व्यापक बन्दै, साढे २७ प्रतिशत जनसंख्यामाझ पुग्यो बिमा |
काठमाडौं । बिमाको दायरा बढ्दै गएको छ । चालु आवको दुई महिनामा बिमाको दायरा सवा २ प्रतिशतले बढेको छ । चालु आवको भाद्र मसान्तसम्म पुग्दा बिमाको दायरा बढेर कुल जनसंख्याको २७.५२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको भाद्रसम्मको बिमा कुल जनसंख्याको २५.१९ प्रतिशतमा सीमित थियो ।
बिमा समितिले नयाँ जीवन र निर्जीवन बिमा कम्पनीहरुलाई सञ्चालन अनुमति दिएपछि नेपालको बिमा बजार थप व्यापक भएको हो ।
बिमा समितिले वैदेशिक रोजगार बिमा समेतलाई जोडेर यो तथ्यांक तयार पारेको हो । वैदेशिक रोजगारमा जाने नेपालीले अनिवार्य बिमा गर्नुपर्ने प्रावधान आएपछि नेपालको बिमा बजारको व्यवसाय ह्वात्तै बढेको थियो । त्यसैगरी तेस्रो पक्ष बिमा गर्नुपर्ने भएपछि निर्जीवन बिमाको व्यवसायको आकार बढेको थियो । वैदेशिक रोजगार बिमालाई अलग राखेर हेर्दा पनि हाल नेपालको बिमा २५.५९ प्रतिशत जनसंख्यामा पुगेको छ ।
चालु आवको पहिलो दुई महिनामा जीवन बिमालेख संख्या १५.८० प्रतिशतले बढेको छ । चालु आवको भदौ महिनासम्म नेपालको सम्पूर्ण बिमा कम्पनीहरुको बिमालेख संख्या ८२ लाख ८ हजार ५ सय २५ पुगेको छ । अघिल्लो वर्षको भदौसम्म ७० लाख ८८ हजार ५ सय ७ वटा मात्र बिमालेख जारी भएका थिए । कोरोना भाइरसका कारण सम्पूर्ण विश्व नै ठप्प हुँदा नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा पनि कमी आयो । वैदेशिक रोजगारीमा जाने संख्यामा आएकै कमीको कारण वैदेशिक रोजगार बिमालेख संख्या दुई महिनामा ३०.६३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष भदौसम्म ८ लाख ४७ हजार रहेको बिमालेख संख्या भदौ मसान्तसम्म आउँदा ५ लाख ८७ हजार ५ सय वटामा सीमित हुन पुगेको छ ।
समग्र वैदेशिक रोजगार बिमासहितको जीवन बिमालेख भदौसम्म १०.८४ प्रतिशतले बढेको छ । चालु आवको भदौसम्म जीवन बिमालेख संख्या ८७ लाख ९६ हजार पुगेको छ । यसअघि गत आवको भदौसम्म ७९ लाख ३५ हजार ५ सय ५३ वटा बिमा लेख संख्या रहेको छ ।
निर्जीवन बिमाको बिमालेख २ महिनामा ७.६६ प्रतिशतले बढेको छ । निर्जीवन बिमाको बिमालेख भदौ मसान्तसम्म ४ लाख ७३ हजार २ सय ६४ वटा पुगेको छ ।
बिमा कम्पनीहरुले भदौ सम्म ३४ अर्ब ५३ करोड ४७ लाख रुपियाँ बिमा शुल्क संकलन गरेका छन् । अघिल्लो वर्षको भदौसम्म २५ अर्ब ७३ करोड रुपियाँ मात्रै बिमा शुल्क संकलन गरेका हुन् । कुल बिमा शुल्कमा जीवनमा बिमाको हिस्सा २८ अर्ब १३ करोड ६६ लाख रुपियाँ र निर्जीवन बिमाको हिस्सा ६ अर्ब ३९ करोड ८१ लाख रुपियाँ रहेको छ ।




