काठमाडौंमा खुल्यो सस्तोमा सामान उपलब्ध गराउने अन्नपूर्णा मार्ट |
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–७ बसुन्धारा चौकी नजिक अन्नपूर्णा स्टोर्स प्रालि (मार्ट) ले सुपथ मूल्यमा दैनिक उपभोग्य खाद्य र ग्रोसरी सामाग्रीको बिक्री सेवा शुभारम्भ गरेको छ । निम्न र मध्यम वर्गीय सर्वसाधारणलाई लक्षित गरी मार्टबाट सेवा सुचारु गरेको कम्पनीले जनाएको छ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले शनिबार मार्टको उद्घाटन गरेका छन् ।
मार्ट उद्घाटन गर्दै मेयर अधिकारीले टोखाका सबै वडामा स्थानीयलाई सुपथ मूल्यमा वर्षैभरी सेवा दिनेगरी साझा पसल सञ्चालनमा ल्याउने बताए । अन्नपूर्ण मार्टसँग सहकार्य गरेर साझा पसल अवधारणा सफल पार्न सकिने अधिकारीले बताए । मार्ट उद्घाटन कार्यक्रममा टोखा वडा नम्बर ७ का वडाध्यक्ष नरोत्तम रानाले सुपथ मूल्यमा सेवा दिन मार्ट सफल हुने विश्वास व्यक्त गरे ।
मार्टबाट होलसेल (सुपथ) दररेटमा निम्न र मध्यम वर्गीय सर्वसाधारणलाई दैनिक उपभोग्य खाद्य सामाग्री र ग्रोसरी सामाग्री खुद्रामा उपलब्ध गराउने मार्टका प्रमुख दीपक न्यौपानेले जानकारी दिए । मार्टले अन्य मार्टहरुमा भन्दा पनि सस्तोमा गुणस्तरीय सामाग्री उपलब्ध हुने र मार्टमा आएर उक्त अनुभव गर्न सकिने सञ्चालक इश्वरदत्त जैसवालले बताए । कम्पनीले भैरहवामा २ मार्टहरु सञ्चालनमा ल्याएको जनाएको छ । काठमाडौंका विभिन्न ५ स्थानमा थप आउलेट स्थापना गर्ने प्रमुख न्यौपानेले बताए ।
मार्टमा आउने ग्राहकले अन्य मार्टमा भन्दा सस्तोमा गुणस्तरीय सामाग्री उपलब्ध रहेको प्रतिक्रिया दिएका छन् र यसको निरन्तरताको माग गरेका छन् । यस्तै मार्टले ग्राहकको विश्वसनियतालाई पहिलो प्राथमिकता दिने मार्टका अर्का सञ्चालक राजकुमार जैसवालको भनाइ छ ।


