‘महामारीमा मिडिया’ सार्वजनिक |
रिपोर्टले विपद्लाई सामना गर्ने गरी नेपाली मिडियाको पूर्व तयारी नभएको र त्यसोहुँदा मिडिया सञ्चालक र पत्रकार मारमा परेको पनि देखाएको छ । छापा माध्यमका सञ्चालकले अनलाइनलाई जोड दिएको र जागिर गुमाएका पत्रकारले अनलाइनलाई विकल्पका रुपमा लिएको पनि रिपोर्टमा उल्लेख छ ।
मिडिया र पत्रकारलाई सहयोग गर्न सरकारले रेडियो टेलिभिजनको नविकरणमा छुट दिएको, प्रदेशमा पत्रकारलाई बिमा, लेखनवृत्तिका साथै जनचेतनामूलक सामग्रीमार्फत सहयोग गरेको तर पत्रकारले त्यस भन्दा बढी सहयोगको अपेक्षा गरेको पनि रिपोर्टमा उल्लेख छ ।
रिपोर्टमा संघ, प्रदेश र स्थानीय तहले विपद्मा पत्रकारिताको महत्वपूर्ण भूमिका हुने कुरालाई मनन् गरी स्वतन्त्र र व्यवसायिक आमसञ्चार माध्यमको अस्तित्व कायम राख्न सहयोग हुने गरी नीति निर्माण गर्नुका साथै विपद्को अवस्थामा तत्काल राहत तथा सहयोग हुने कार्यक्रम ल्याउन सुझाव दिइएको छ ।
यस्तै, आमसञ्चार माध्यमहरूले कुनै पनि बेला विपद् आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै भौतिक, आर्थिक र मनोवैज्ञानिक हिसाबले विपद् व्यवस्थापन योजना निर्माण गरी तयार रहन र पत्रकार तथा कर्मचारीहरूलाई आवश्यक पूर्व तयारी ज्ञान र सीपका तालिम दिनुपर्ने उल्लेख छ । साथै पत्रकार र कर्मचारीलाई सहयोग र प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने लगायतका सुझाव पनि उल्लेख गरिएको छ ।
रिपोर्ट तयार पार्ने क्रममा मिडिया सञ्चालक, पत्रकार सहित १४६ जनासँग अन्तर्वार्ता लिइएको थियो ।
सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष ऋषिकेश दाहालले गुणात्मक विधि अपनाएर तयार पारिएको रिपोर्टले लकडाउनका बेला सातवटै प्रदेशका मिडिया र पत्रकारले भोग्नु परेका समस्या तथा चुनौतीलाई मिहिन रुपमा बुझ्न सहयोग पुग्ने बताउनुभयो ।
प्रदेशगत अध्ययन २०७७ साल मंसिरसम्म प्राप्त जानकारीका आधारमा गरिएको छ भने रिपोर्टको मूल लेखमा २०७८ साल साउनसम्मको विवरण समावेश गरी आगामी दिनमा विपद्को सामना गर्न सरकार, आमसञ्चार माध्यम, पत्रकार, पत्रकारका संघसंगठन लगायतले निर्वाह गर्नु भूमिकाबारे सुझाव दिइएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोभिड-१९ बाट थिलोथिलोमा परेको मिडिया क्षेत्रको पुनर्उत्थानका लागि अभियान नै चलाउनुपर्ने बताउनुभयो । संकटका बेला पनि नेपाली पत्रकारिता क्षेत्रले जिम्मेवार रुपमा सूचना प्रवाह गरेकोमा प्रशंसा गर्दै अध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्रलाई सही दिशामा अघि बढाउन तत्कालिन र दीर्धकालिन रणनीतिका साथ अघि बढ्नु पर्ने बताउनुभयो ।
फेडरिक इवर्ट स्टिफटुङ्ग (एफइएस) नेपालका आवासीय प्रतिनिधि जोनाथन मेन्जले कोभिड-१९ का कारण मिडियाको चक्र र व्यवसायिक पक्षमा धेरै परिवर्तन आएको भन्दै संकटका बेला गुणस्तरीय पत्रकारिताको विशेष महत्व हुने बताउनु भएको थियो ।


