नेपाल व्यवस्थापन संघले सार्वजनिक गर्यो “व्यवस्थापन जर्नल” |
काठमाडौं । नेपालका व्यवस्थापक, प्रशासक, प्राज्ञिक वर्ग, अनुसन्धान कर्ता, बैंकर्स तथा समग्र व्यवस्थापकियय क्षेत्रको साझा संगठनको रुपमा गौरवमय ४२ बर्षको इतिहास वोकेको नेपाल व्यवस्थापन संघले हरके बर्ष कुनै निश्चित विषयमा आधारित खोज तथा अनुसन्धानमुलक जानकारी समेटेर पकाशन गर्दे आएको “व्यवस्थापन जर्नल” को ४० औं अंक आज सार्वजनिक गरिएको छ ।
अनलाइन माध्यमबाट सञ्चालित एक समारोहका विच संघका पूर्व सभापति तथा नेपालका प्रसिद्ध भौतिक शास्त्री इञ्जिनियर अजित नारायण सिंह थापाले एक समारोहका विच व्यवस्थापन जर्नल सार्वजनिक गर्नु भएको हो । यस बर्षको जर्नलको थिम “Economic Revival after COVIDM Clear Roadmap for Bounce Back Schemes” रहेको छ । यसपटकको जर्नलमा ११७ पेजमा समेटीने गरी अनुसन्धानमुलक विषयमा आधारित १४ वटा लेख रचनाहरु समेटिएका छन ।
४० औं अंकको रुपमा प्रकाशित व्यवस्थापन जर्नलको मुख्य सम्पादकको भूमिका यस बर्ष डा. हिरामणी घिमीरेले निर्वाह गरेका थिए । कार्यक्रममा सम्पादकिय भूमिका निर्वाह गर्दा पछिल्लो समयमा कोरोनाका कारण नेपाली अर्थतन्त्रमा परेको प्रभाव र यसको पुनरुत्थानमा कसरी स्पष्ट मार्गचित्र तय गर्न सकिन्छ भन्ने सन्दर्भमा जोड दिइएको प्रमुख सम्पादक डा. घिमिरेले जानकारी गराए । यसैगरी जर्नलमा समेटिएका विषयवस्तुका बारेमा संक्षिप्त विश्लेषण पेश गर्दे डा. दिल प्रसाद श्रेष्ठले नेपाल व्यवस्थापन संघ जस्तो गरिमामय संस्थाले उच्च स्तरिय विषयवस्तुमा जोड दिनु पर्ने वताए । उनले संघको पहलमा प्रकाशित जर्नल आइएसएस एन प्राप्त जर्नल भएकाले यसमा समेटिने विषयवस्तुको गुणस्तर निर्धारणमा कत्ति पनि कञ्चुस्याइ गर्न नहुने पुनः दोहोर्याए ।
जर्नल सार्वजनिक कार्यक्रममा नेपाल व्यवस्थापन संघका वर्तमान सभापति तथा राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले अध्यक्षता गर्दे संघले सञ्चालन गरिरहेको विविध गतिविधिहरुका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमलाई नेपाल राष्ट्र बैंकका निर्देशक तथा संघका प्रथम उप सभापति राजन विक्रम थापाले सहजीकरण गरेका थिए । हरेक बर्ष संघले व्यवस्थापकीय तथा अर्थशास्त्रीय दृष्टिकोणले बर्ष भरिकै महत्वपूर्ण तथा खास खास विषयमा व्यवस्थापन क्षेत्रका प्रभुद्ध व्यक्तित्व, अनुसन्धान कर्ता, प्राज्ञ आदीवाट प्राप्त विषयवस्तुहरुलाई व्यवस्थापन जर्नलमा प्रकाशन गर्दे आएको छ । नेपाल व्यवस्थापन संघ मुलुकभरी व्यवस्थापन विज्ञानको उपयोग गर्दे उक्त शिपलाई मुलुकको व्यवस्थापकिय सम्वृद्धिमा परिचालन गर्न गैर नाफामुखी, गैर राजनीतिक विशुद्ध वौद्धिक क्रियाकलापहरुको प्रयोगशालाको रुपमा २०३५ सालमा स्थापित संस्था हो । संघले विविध क्षेत्रमा तालिम, अनुसन्धान तथा व्यवस्थापकिय विकासमा अनवरत रुपमा सक्रिय भूमीका निर्वाह गर्दे आएको छ ।
यसका साथै संघले मुलुकुको नीति तथा कार्यक्रम, बजेट, मौद्रिक नीति आदिमा विशेषज्ञिय भूमिका निर्वाह गर्दे आएको छ । संघले विभिन्न पेशामा व्यस्त व्यक्तिहरुलाई लक्ष्यित गरी सन् २००६ देखी दुई बर्षिय ईएमबिए कार्यक्रम सञ्चालन गर्दे आएको छ । हाल संघमा करिव ३ हजार आजिवन तथा साधारण सदस्य, करिव ३ सय संस्थागत सदस्य र संघको विराटनगर, धनगढी र पोखरामा प्रदेश स्तरिय शाखाहरु रहेका छन ।


