मौद्रिक नीति ː प्राथमिकतामा कोरोना प्रभावित व्यवसाय | निजी क्षेत्रको कर्जा बिस्तार १९ प्रतिशतमा सीमित गरिने, लघुवित्तले न्यूनतम २५ प्रतिशत ऋणपत्र जारी गर्नु पर्ने
काठमाडौं । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रर्वद्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको असर न्यून गर्न यसअघि नै ल्याइएको पुनरुत्थान कर्जालाई निरन्तरता दिइएको जानकारी दिए ।
नीतिमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटल, पर्यटन तथा हवाई क्षेत्रलाई विशेष चासोका साथ सम्बोधन गरिएको छ । कोरोनाका कारण नगद प्रवाहमा समस्या भएका क्षेत्रलाई समेत मौद्रिक नीतिले विशेष चासो दिएको छ ।
यस्तै, कोरोनाले समस्यामा पारेको सार्वजनिक यातायातको मर्मतसम्भारका लागि थप रु दुई लाखसम्मको ऋण दिने व्यवस्था गरिएको छ । स्थिर विनिमय दरको व्यवस्था, वित्तीय स्रोत परिचालनको दायरा फराकिलो बनाइएको छ भने ब्याजदर करिडोर, ब्याजदर स्थायित्व कामय हुने गरी व्यवस्थापन गरिएको छ ।
यस्तै, विप्रेषण बैंक तथा वित्तीय संस्थामा राखेको अवस्थामा थप ब्याज पाउने नयाँ व्यवस्था नीतिमा गरिएको छ । गभर्नर अधिकारीका अनुसार विप्रेषण रकम बैंकिङ प्रणालीमा राखिएको सन्दर्भमा हाल पाउने ब्याजदरमा थप एक प्रतिशत बढी पाउने व्यवस्था गरिएको छ ।
चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फको कर्जा बिस्तार १९ प्रतिशतमा सीमित गरिने लक्ष्य लिएको छ । अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेका हुन् । उपभोक्ता मुद्रा स्फिति ६.५० प्रतिशतमा सिमित राखिने भएको छ । यसैगरी सिआरआर र बैंकदर यथावत राखिने भएको छ ।
रष्टिय स्तारका विकास बैंक र वित्त कम्पनी र थोक कर्जा प्रवाह गर्ने लघुवित्तले न्यूनतम २५ प्रतिशत ऋणपत्र जारी गर्नु पर्ने छ । यसैगरी पुनकर्जालाई निरन्तरता दिइएको छ । साथै लगातार तीन वर्षसम्म खुद नोक्सानीमा रहे मात्र शुक्ष्म निगरानीमा राख्नु पर्ने छ ।


