एउटै बैंकले दुई अर्बसम्म ऋण दिनसक्ने |
काठमाडौं । अब एउटै वाणिज्य बैंकले दुई अर्ब रुपैयाँसम्म कर्जा दिन पाउने भएको छ। केन्द्रीय बैंकले आज जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको हो।
वाणिज्य बैंकको क्षमतामा वृद्धि भएका कारण एउटै वाणिज्य बैंकलाई त्यस्तो व्यवस्था गरिएको हो। यसअघि वाणिज्य बैंकले एक अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था थियो।
सो सीमाभन्दा माथिको ऋण लगानी गर्नुपर्दा अन्य बैंक तथा वित्तीय संस्थासँग सहवित्तीयकरणमा जानैपर्ने व्यवस्था थियो। कुनै पनि परियोजनाले एक अर्बभन्दा माथि ऋण माग गरेको खण्डमा साझेदारीमा लगानी गर्नुपर्ने व्यवस्था थियो।
जलविद्युत् आयोजना तथा अन्य भौतिक पूर्वाधारको क्षेत्रमा गरिने लगानीको मात्रा बढी हुने भएकाले एकै बैंकलाई दुई अर्ब रुपैयाँसम्मको व्यवस्था गरिएको हो। केन्द्रीय बैंकको नीतिअनुसार अब पनि दुई अर्ब रुपैयाँभन्दा माथिको कर्जामा भने सहवित्तीयकरणको व्यवस्था कायम रहेको छ।


