इन्फिनिटी लघुवित्तको नाफा १६५.९० प्रतिशतले बढ्यो |
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ।
गत असार मसान्तसम्ममा लघुवित्तले १२ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६५.९० प्रतिशत बढी हो।
लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७७.१९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४७.४४ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ३ करोड ३३ लाख रुपैयाँ छुट्याएको छ भने १ करोड ३५ लाख रुपैयाँ खराब कर्जा उठाएको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १४.२५ प्रतिशत बढेको छ भने जगेडा कोष १११.७० प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी १२४.१८ प्रतिशत, निक्षेप ४२.८७ प्रतिशत र कर्जा ६३.१६ प्रतिशत बढेको छ।
चुक्ता पूँजीको तुलनामा खुद नाफा बृद्धिदर बढी भएका कारण लघुवित्तको प्रतिशेयर आम्दानी (ईपीएस) २७ रुपैयाँ ५९ पैसा बढेर ४८ रुपैयाँ ३७ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३७.०३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ६४ पैसा पुगेको छ।


