भारतीय धावक मिल्खा सिंहको ९१ वर्षको उमेरमा निधन |
काठमाडौं । भारतीय धावक मिल्खा सिंहको निधन भएको छ । कोरोना भाइरसको सङ्क्रमण भएपछि उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
९१ वर्षिया उनको चण्डीगढस्थित अस्पतालमा उपचारका क्रममा शुक्रबार राति साढे ११ बजे निधन भएको हो । उनलाई मे २० तारिखमा कोरोना भाइरसको सङ्क्रमण भएको थियो ।
जुन ३ तारिखमा अस्पताल भर्ना भएका उनलाई जुन १३ तारिखसम्म आइसीयूमा राखिएको थियो । यसपछि गरिएको स्वास्थ्य परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, फेरि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको ज्यान गएको हो ।
पाँच दिन अगाडि उनकी श्रीमतीको पनि कोरोनाका कारण ज्यान गएको थियो ।
सिंह स्वतन्त्र भारतका पहिलो धावक थिए जसले १९६० मा कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेका थिए। उनी भारतीय सेनामा पनि थिए। सिंहले २ सय मिटर र ४ सय मिटर दौडमा धेरै पदकहरू जितेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति शोक व्यक्त गरेका छन् ।


