ई–व्यापार संघद्वारा होम डेलिभरी र ई–वाणिज्यमा लागू प्रतिबन्धको आलोचना |
काठमाडौँ । ई–व्यापार संघ नेपालकाका अनुसार, सम्बन्धित अधिकारीहरूसँग पटक–पटक छलफल गरे पनि, जेठ ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञाले होम डेलिभरीलाई सहज पार्ने प्रावधानहरूलाई पर्याप्त मात्रामा ध्यान दिएको छैन ।
ई–व्यापार संघले हालका प्रतिबन्धहरुमा विशेष गरी काठमाडौं उपत्यकामा कार्य अवधि बिहान ९ बजे सम्म सीमित गर्नु, र अत्यावश्यक उत्पादनहरूको परिभाषामा कुनै फेर बदल नगर्नुमा आपत्ति जनाएको छ ।
यसले उपभोक्ताका साथै ई–वाणिज्य प्लेटफर्मसँग सम्बद्ध हजारौं साना र मध्यम व्यवसायलाई नकारात्मक असर पार्ने भनेको छ ।
ई–व्यापार संघका अध्यक्ष सागर भट्टराई भन्छन् “सरकारले लगाएको सुरक्षा उपायहरू (२ मिटर दूरी कायम राख्नु, डिलिभरी कामदारहरूलाइ सेनिटाइजर, ग्लोभ्स, र मास्कले सुसज्जित गर्नु; उनको स्वास्थ्यलाई निरन्तर अनुगमन गर्नु) लाई ई–व्यापार संघ र यसका सदस्य कम्पनीहरूले सधैं अनुसरण गर्दै आएको छ। हामी सर्वसाधारणलाई एक सुरक्षित विकल्प प्रदान गर्दछौँ । सबै सामानहरूको होम डेलिभरी सेवालाई अनुमति दिनाले भाइरस फैलन बाट रोक्न मद्दत गर्दछ ।
यसले ई–व्यवसाय मार्फत सञ्चालित धेरै साना र मध्यम व्यवसायहरूको कष्टहरू कम गर्दछ, र अर्थव्यवस्थालाई निरन्तरता दिन्छ । यसैले म सरकारलाई सम्पूर्ण समाजको भलाइका लागि हाम्रा आग्रहहरुलाई सम्बोधन गर्न आग्रह गर्दछु ।”
महामारीको चापलाई कम गर्न लगाएको लकडाउन एक महिना भन्दा बढि भैसकेकोले स्टेशनरी, मोबाइल र कम्प्युटर जस्ता सामग्रीहरु उपभोक्ताहरूको लागि खाना र कपडा जत्तिकै आवश्यक भएको छ ।
यद्यपि, सरकारले विद्यार्थी, कर्मचारी र समाजका अन्य सदस्यहरूका आवश्यकतालाई सम्बोधन गर्न पर्याप्त कदम चालेका छैनन् । धेरै व्यवसायहरू यस प्रतिबन्धबाट नकरात्मक रूपमा प्रभावित भएका छन् ।
यदि ई–वाणिज्य कम्पनीहरूलाई केहि उत्पाद समूहहरूमा सीमित नराखी पूर्ण रुपमा वितरण सेवा संचालन गर्न अनुमति दियो भने, यो समस्या समाधान हुन सक्छ साथै उपभोक्ताहरूको सुरक्षा सुनिश्चित गर्न सहयोग गर्छ ।
कोभिड–१९ महामारीको समयमा होम डेलिभरीको स्पष्ट लाभका कारण छिमेकी भारत, बंगलादेश, पाकिस्तान लगायत विश्वभरका देशहरूका सम्बन्धित सरकारहरूले ई–वाणिज्य र होम डेलिभरीलाई आवश्यक सेवाको रुपमा पूर्ण रुपले संचालन गर्न दिएका छन् । यी देशहरूले घरेलु अर्थतन्त्रलाई बृद्धि गर्दै उपभोक्ताहरूको सुरक्षा सुनिश्चित गर्न होम डेलिभरीमा कुनै किसिमको रोक लगाएको छैन ।
होम डेलिभरीलाई अनुमति दिँदा विभिन्न वस्तुहरू किनमेल गर्न मानिसहरु घर बाहिर निस्कनु पर्दैन र सरकारको जनादेश अनुसार कोभिड–१९ रोकथाम गर्न जारी आदेशहरुलाई कार्यान्वयन गर्न समर्थन गर्दछ ।
ई–व्यापार संघका अनुसार ईकमर्स र होम डेलिभरी सेवाहरूमा सिमित कार्य अवधि लागु गर्नु र चाहिने सामग्रीहरुको उपलब्धतामा रोक लाउनु भनेको अन्तर्राष्ट्रिय उत्तम अभ्यासहरूलाई पूर्ण रुपमा बेवास्ता गर्नु हो ।
यसैले सरकारले होम डेलिभरी सेवालाई जोड दिनुपर्छ, जसले समुदायलाई उत्थानका साथै महामारीबाट प्रभावित साना व्यवसायलाई प्रोत्साहित गर्नेछ किनभने ई–वाणिज्य र होम डेलिभरी कम्पनीहरूले महामारीको क्रममा अर्थतन्त्रलाई माथि ल्याउन एक सहयोगी स्तम्भको रूपमा काम गर्नेछन् ।




