कोभिड संकटबारे एकता र नेतृत्वको खाँचो – एम्नेस्टी |
काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले दक्षिण एसियाका सरकारहरूले स्वास्थ्य सेवासम्बन्धी अभावहरूलाई तत्काल सम्बोधन गर्नुपर्ने र यस क्षेत्रमा कोभिड–१९ को तीव्र संक्रमणविरुद्ध प्रतिकार्यका लागि अति शीघ्र स्वास्थ्य प्रणालीहरूलाई सुदृढ पार्नुपर्नेमा जोड दिएको छ ।
भारत र नेपालको स्वास्थ्य प्रणाली टुट्ने बिन्दुमा पुगेपछि र दक्षिण एसियाका अन्य देशहरूमा भाइरसको फैलावटलाई सामना गर्ने सवालमा देखिएको तयारीपनको अभावप्रति मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले विज्ञप्तिमार्फत आफ्नो चासो व्यक्त गरेको हो ।
‘भारत र नेपालमा जुन खालको मानव विपत्ति देखा परिरहेको छ, यसले यस क्षेत्रका अन्य देशहरूलाई संकटकालीन प्रतिकार्यका उपायहरूका लागि ठूलो लगानी गर्नका लागि एउटा चेतावनीको काम गरेको छ,’ एम्नेस्टी इन्टरनेसनलका एसिया प्यासिफिक निर्देशक यमिनी मिश्रले विज्ञप्तिमा भनेकी छन्, ‘भाइरस डरलाग्दो गतिमा फैलदै सीमानाहरू पार गरिरहेको छ र यसले यस क्षेत्रका सबैभन्दा सीमान्तकृत जनसंख्यालाई सबैभन्दा बढी कठोर रूपमा आक्रमण गर्न जारी राख्नेछ ।’
भारतसँग खुला सीमा जोडिएको नेपालमा संक्रमणमा तीव्र वृद्धि हुन सुरू भइसकेको उल्लेख गर्दै एम्नेस्टी इन्टरनेसनलले भारतबाट अक्सिजन निर्यातमा रोक लगाइएपछि नेपालले अतिरिक्त आपूर्ति व्यवस्था मिलाउन संघर्ष गरिरहेको उल्लेख गरेको छ ।
‘हामीले अक्सिजन, अस्पतालमा शय्याहरू, मानव संशाधन र अत्यावश्यक औषधिहरूको अभावले कसरी भारतको कम श्रोतसाधनमा चलिरहेको स्वास्थ्य सेवाका प्रतिकार्यहरूलाई नाजुक अवस्थामा पु¥याइदिएको छ भन्ने देखिसकेका छौँ,’ यमिनी मिश्रले भनेकी छन्, ‘अब नेपालमा यस्तै चिन्ताजनक अवस्था देखापर्दैछ ।’
नेपालका राजनीतिज्ञहरू राजनीतिक झगडा र आन्तरिक कलहमा अल्झिने समय नभएको भन्दै उनले अहिले देशमा चुलिँदो संकटलाई सम्बोधन गर्नका लागि एकता र नेतृत्वको खाँचो रहेको उल्लेख गरेकी छन् ।
सबैलाई समान स्वास्थ्य सेवा प्रदान गरेर राज्यहरूले उच्च जोखिममा रहेका दैनिक ज्यालादारीमा आश्रितहरू, बन्दीहरू, शरणार्थीहरू र आन्तरिक रूपमा विस्थापितलगायतका सीमान्तकृत र कमजोर समूहहरूको मानवअधिकारको संरक्षणमा ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै मिश्रले भनेकी छन्, ‘स्वास्थ्य सुविधाहरू बिना कुनै भेदभाव सबैका लागि उपलब्ध, मूल्यसुलभ र पहुँचयोग्य भएको सुनिश्चित गर्न उनीहरूले प्रभावकारी कदमहरू चाल्नुपर्दछ ।’
यस क्षेत्रका जनसंख्यालाई खोप लगाउनका लागि पहिल्यैदेखि संघर्षरत रहेको अवस्थामा पछिल्लो समय कोभिड संक्रमणमा भइरहेको नयाँ वृद्धिले ठूलो चुनौती खडा गरेको एम्नेस्टी इन्टरनेसनलको भनाइ छ ।
‘यस संकटको समयमा अन्तर्राष्ट्रिय समुदायले एक ठाउँमा उभिएर खोपमा समान पहुँच सुनिश्चित गरेर र स्थानीय रूपमा खोप उत्पादनका लागि आवश्यक स्रोत र प्रविधिको स्थानान्तरणलाई प्राथमिकता दिएर दक्षिण एसियाली मुलुकहरूलाई सहयोग पु¥याउनुपर्दछ,’ यमिनी मिश्रले भनिन् ।


