वीरगञ्ज महानगरले अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर तयार पार्यो, शुक्रबारदेखि सञ्चालन गर्ने |
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले एक सय बेड क्षमताको अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर शुक्रबारदेखि सञ्चालन गर्ने तयारी गरेकोे छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले महानगरले उपयुक्त स्थानमा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो ।
नगरवासीको जीवन रक्षाका लागि कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्न लागेको महानगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए । ‘कोभिड अस्पताल र आइसोलेसन सेन्टरमा आवश्यक तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘शुक्रबार रिबन काटेर उद्घाटन गर्छौं । अनि संक्रमित राख्न सुरु गर्छौं ।’
वीरगञ्ज घडिअर्वास्थित गोपाल मण्डली धर्मशालामा महानगरपालिकाले अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर तयार पारेको हो । अस्थायी कोभिड अस्पतालमा चिकित्सक, नर्स, पारामेडिकल स्टाफले कोभिड संक्रमितको उपचार र हेरचाह गर्नेछन् । त्यसका लागि विशेषज्ञ डाक्टर १ जना, मेडिकल डाक्टर २ जना, मेडिकल अफिसर ५ जना, पारामेडिकल स्टाफ २१ जना, सफाइकर्मी ८ जना, र प्रशासनिक कर्मचारी १० जना खटाइने महानगरपालिकाले जनाएको छ । अक्सिजन सहितको बेडको व्यवस्था गरिएको छ । होम आइसोलेसनमा अक्सिजनमा रहेका विरामी पनि अस्थायी कोभिड अस्पतालमा भर्ना हुन सक्ने महानगरले जनाएको छ ।
कोभिड अस्पतालमा भर्ना भएका संक्रमितलाई अक्सिजन, औषधि र खाजा, खानासमेत महानगरले निःशुल्क उपलब्ध गराउनेछ ।


