चर्को ब्याज लिएको विषयमा एनआईसी एसियालाई राष्ट्र बैंकले सोध्यो–सत्यतथ्य के हो ? |
काठमाडौं । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई चर्को ब्याज लिएको विषयमा स्पष्टीकरण सोधेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईसी एशिया बैंकलाई पत्रचार गर्दै ‘बाहिर आएका विषय वस्तुमा के कसो भएको हो सो बारे तत्कालै जानकारी गराउनू’ भन्दै पत्राचार गरेको हो ।
अचाक्ली ब्याज लिएर महामारीमा पनि ग्राहकलाई समस्यामा पारेको भन्ने विषयबाहिर आएपछि जवाफ माग गरिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले पुष्टि गरे ।
नियमन विभागका प्रमुख समेत रहेका प्रवक्ता ढकालले भने, ‘हिजो मात्रै पत्र काटिएको छ, आज वा भोलिसम्ममा जवाफ आउँला ।’
बैंकको जवाफपछि के गर्ने भनेर सुपरीवेक्षण विभागले निर्णय गर्नेछ । एनआईसी एसिया बैंकले पछिल्लो समय ग्राहकलाई सामान्य मौका समेत नदिई घरजग्गा लिलामी गरिदिएको, अत्यधिक ब्याजदर लिने गरेको गुनासो बढेको छ ।
बैंकको विराटनगर शाखाले घर कर्जाको ब्याजदर ९ प्रतिशतबाट बढेर करिब १६ प्रतिशत पुगेको भन्दै ऋणीलाई पत्राचार गरेको थियो । तर, बैंकको बेस रेट ६.७७ प्रतिशत रहेको छ ।


