१००० शय्याको अस्थायी अस्पताल, फ्रान्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता ː प्रधानमन्त्री ओली |
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
– एकवर्ष अघि यसै समयतिर हामीहरु कोभिड–१९ को प्रारम्भिक असर भोग्दै थियौं । मानिसको जीवन र अर्थतन्त्रको रक्षा बीच कसरी सन्तुलन कायम गर्ने भन्नेमा बहस जारी थिए । हामीले ‘जीवन पहिला’ भन्यौं र त्यही अनुरुप योजनाहरु बनायौं । एकबर्षपछि समीक्षा गर्दा हाम्रो निर्णय सही थियो भन्नेमा अहिले द्विविधा रहेन । देशवासीको जीवन रक्षा, महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा हाम्रो क्षमताको अधिकाधिक प्रयोग भयो । सबैको सहयोगमा गत वर्षको कात्तिक अन्त्यसम्ममा हामी महामारीलाई नियन्त्रण गर्ने स्थितिमा आइपुगेका थियौं ।
– यस सफलताको लागि महामारी बिरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र सफाइकर्मी सहित सबै तह र तप्काका राष्ट्रसेवक कर्मचारीहरुको भूमिका उल्लेखनीय रह्यो । त्यस असमान्य घडीमा सङ्क्रमितहरूको उपचार र व्यवस्थापनमा अहोरात्र खट्ने सबैको त्याग, समर्पण र लगनशीलताको म उच्च प्रशंसा गर्दछु ।
– अहिले हामी कोभिड–१९ महामारीको दोस्रो लहरको सामना गर्दैछौं । कोभिडको यो लहर नयाँ स्वरुपमा थप घातक रुपमा देखा परेको छ । संक्रमणको दर र मृत्युदर गतबर्षको तुलनामा बढी छ । हिजोको २४ घन्टाको तथ्याङ्कलाई उदाहरणको रुपमा लिँदा, पीसीआर परीक्षण गरिएका १६ हजार ७७० केसमध्ये झण्डै ४३ प्रतिशत अर्थात ७ हजार २११ मा संक्रमण देखिएको छ ।
– हिजो साँझसम्म कूल संक्रमित संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । कूल संक्रमितमध्ये निको भएका संक्रमित ८४.५ प्रतिशत, निको हुने क्रममा रहेका संक्रमित १४.५ प्रतिशत र ज्यान गुमाउनेको संख्या ०.९९ प्रतिशत छ । ३० जिल्लामा २०० भन्दा बढी र १५ जिल्लामा ५०० भन्दा बढी संक्रमित संख्या छ । ७२ जिल्लामा कोभिड–संक्रमित रेकर्ड भएका छन् । बैशाख १९ गतेसम्मको कूल संक्रमितमा ३८.४ प्रतिशत काठमाडौं जिल्लामा मात्रै र ५०.४ प्रतिशत काठमाडौं उपत्यकामा मात्रै छन् ।
– यस महामारीबाट संक्रमित भई अस्पतालमा उपचार गराइरहुनु भएका र घरमै आइसोलेसनमा बसी स्वास्थ्यलाभ गरिरहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुको शीघ्र्र स्वास्थ्यलाभको कामना गर्दछु ।
– हालसम्म ३ हजार भन्दा बढी देशवासीले अनाहकमा यस महामारीबाट जीवन गुमाउनु परेकोमा दुःख व्यक्त गर्दछु र उहाँहरुका शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
दिदीबहिनी तथा दाजुभाइहरु,
– गतबर्ष यो महामारी नेपाल भित्रिनुअघि नै सरकारले यसको रोकथाम र नियन्त्रणका लागि सरकारी निकायबीच समन्वय गरी प्रभावकारी काम गर्न माननीय उपप्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रीय निर्देशक समिति गठन गरेको सबैलाई जानकारी नै छ । त्यसैको योजनामा देशभर होल्डिङ सेन्टर र आइसोलेसन केन्द्र बनाइएको थियो, क्वारेन्टिनको व्यवस्थापन र अस्पतालहरूमा शीघ्र उपचारको व्यवस्था मिलाइएको छ । शून्यको संख्यामा रहेको पीसीआर परीक्षण ल्याव संख्या क्रमशः बढाउँदै लगिएको थियो । हाल सरकारी र निजीस्तरका गरी ८७ स्थानमा पीसीआर परीक्षण हुने गरेको छ । सबैजसो अस्पताललाई कोभिडको उपचार गर्नसक्ने स्थितिमा पुर्याइएको छ । गत एक वर्षको तुलनामा स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको छ । सबै स्थानीय तहमा ५ देखि १५ शैयाका आधारभूत अस्पताल निर्माण र केद्र तथा प्रदेशमा संक्रामक रोग अस्पताल निर्माणलाई तीब्रता दिइएको छ ।
– अप्ठ्याराकै बीचमा हामीले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया शुरु गरिसकेका छौं । आफ्ना देशवासीलाई कोरोनाबिरुद्ध खोप लगाउनेमा हामी दक्षिण एशियामै भारतपछि पहिलो मुलुक हौं । हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएकोे छ । दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको छ, अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेका छन् । यस संख्यामा स्वास्थ्यकर्मी लगायत अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरू रहेका छन् ।
– मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैं आवश्यक मात्रामा खोप खरिद प्रक्रिया शुरु गरिसकेको छ । चीन, रुस लगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।
दिदीबहिनी तथा दाजुभाइहरु,
– कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशील छ । नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो भन्नेमा म पुनः जोड दिन चाहन्छु ।
– त्यसैले महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित छन् । सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक एवम् प्रभावकारी ढङ्गले कोभिड बिरुद्धको लडाईंलाई कार्य अघि बढाउन प्रदेश केन्द्रित हुनेगरी अहिले नेपाल सरकारका एक/एक जना मन्त्रीलाई ‘फोकल व्यक्ति’ तोकिएको छ ।
– संक्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेशन केन्द्रको व्यवस्था गरेर मात्रै पुग्दैन, एकहदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरुको सल्लाह अनुसार केही अवधिको लागि निषेधाज्ञा जारी गरिएको छ । यसलाई थप कडाई गरिंदैछ र प्रभावकारी ढंगले लागू गर्न पहिलेझैं सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ :
– यही २०७८ बैशाख २० गते राति १२ बजेदेखि बैशाख मसान्तसम्म आन्तरिक उडान बन्द गर्ने निर्णय गरिएको छ ।
– २०७८ बैशाख २३ गते राति १२ बजेदेखि बैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको छ ।
– स्थलमार्गबाट विदेशी नागरिकको आवागमन बन्द गरिएको छ । नेपाली नागरिक प्रवेशका लागि नेपाल भारतबीच रहेका सीमा नाकामध्ये १३ नाका मात्र सञ्चालनमा ल्याइएको छ । आपूर्ति व्यवस्था प्रभावित नहुने गरी सोसँग सम्बन्धित ढुवानीका साधन भने यथावत सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
– भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्र सीमा प्रवेश गर्ने व्यवस्था मिलाइने छ । सबै तहमा कन्ट्याक ट्रेसिङ बढाउन लगाइएको छ ।
– स्थलमार्ग, चार्टर्ड वा उद्धार हवाई उडानबाट आउने हरेक व्यक्तिलाई परीक्षण गरिने छ । कोही सङ्क्रमित पाइएमा उनीहरुलाई उपचार गरेर मात्र समुदायमा पठाउने व्यवस्था मिलाइएको छ ।
– प्रत्येक स्थानीय निकायले नेपाल बाहिरबाट आउने व्यक्तिको अभिलेख राखी क्वारेन्टिन, आइसोलेसन तथा उपचारको व्यवस्था गर्ने र घर तथा संस्थागत आइसोलेसनको नियमित अनुगमन गर्ने प्रबन्ध गरिएको छ ।
– सरकारी तथा अन्य कार्यालयमा एक चौथाई कर्मचारीबाट कार्यसम्पादन गराउन शुरु गरिएको छ । अत्यावश्यक बाहेक अन्य कार्यालय, संघसंस्था बैशाख मसान्तसम्म बन्द रहनेछन् ।
– नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको छ ।



