एक वर्षमा फास्ट ट्रयाकको प्रगति ११ प्रतिशत |
काठमााडौं । नेपाली सेनाले थालेको काठमाडौं–तराई–मधेस द्रूतमार्ग (फास्ट ट्रयाक)को निर्माण प्रगति ११.११ प्रतिशत छ ।
सेनाका अनुसार वित्तीयतर्फ ९.४२ प्रतिशत खर्च भएको छ । आयोजनामा हालसम्म १७ अर्ब ८३ करोड खर्च भइसकेको सेनाले जनाएको छ ।फास्ट ट्रयाकको अनुमानित लागत १७५ अर्ब हो । आयोजना आर्थिक वर्ष २०८०र८१ मा सम्पन्न गर्ने सेनाको लक्ष्य छ ।
सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार ७२.५ किलोमिटर सडकमध्ये तीन ठाउँमा सुरूङ मार्ग छन्। त्यो ६.४१ किलोमिटर हो ।विभिन्न पुल १०.५९ किलोमिटर र ढुंगा माटो काट्नुपर्ने सडकको लम्बाइ ५५.५ किलोमिटर छ ।
जसअन्तर्गत ४४.१ किलोमिटर सडक खण्डको माटो काट्ने काम ८८ प्रतिशत पूरा भएको सेनाको भनाइ छ । सुरूङको लागि राष्ट्रिय परामर्शदाता छनोट भई काम सुरू भएकोमा भौगर्भिक रिपोर्टहरू प्राप्त भएको सेनाले जनाएको छ । सुरूङ मार्ग निर्माण लागि अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनोट गर्न पुस १० गते कम्पनीहरूको सूची प्रकाशन गरिएको छ ।
पुल निर्माणका लागि २०७७ मंसिर १० गते ठेक्का सम्झौता भएको छ । हाल पुलका लागि ‘बोर होल ड्रिलिङ’को कार्य भइरहेको सेनाले जनाएको छ ।
चार वटा बेलिब्रिजमध्ये एउटा सञ्चालनमा ल्याइएको छ । दुई वटा निर्माण सम्पन्न भएका छन्। खोकनामा निर्माणाधीन बेलिब्रिज स्थानीय विवादले रोकिएको छ ।
फास्ट ट्रयाकमाको ८४ प्रतिशत मुआब्जा वितरण भइसकेको छ । खोकना इलाकाको द्रुतमार्ग रेखाङकनमा पर्ने जग्गा स्थानीय विवादको कारण प्राप्तिमा बाधा परेको र सो सम्बन्धमा समस्या समाधानको लागि आवश्यक समन्वय तथा पहल भइरहेको सेनाको भनाइ छ। हालसम्म चार सय ४५ रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी छ ।
२०७४ वैशाख २१ गते सरकारले फास्ट ट्रयाक बनाउने जिम्मा नेपाली सेनालाई दिएको थियो। २०७६ भदौ १ गते परियोजनाको डिपिआर स्वीकृत भएको थियो ।
एसियाली राजमार्ग डिजाइन मापदण्ड अनुसार निर्माण हुने राष्ट्रिय गौरबको उक्त आयोजना विभिन्न व्यवधान छिचोल्दै अघि बढेको दाबी सेनाको छ ।
आयोजना बागमती र नम्बर २ प्रदेशका चार वटा जिल्ला ललितपुर, काठमाडौं, मकवानपुर र बारा हुँदै निजगढलाई अन्तिम बिन्दुको रुपमा प्रस्ताव गरिएको छ ।


