कामना सेवाले माघ २२ गतेदेखि ऋणपत्र जारी गर्ने |
काठमाडौं । कामना सेवा विकास बैंकले माघ २२ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । कुल निष्काशन गरिने ऋणपत्रमध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्न लागेको हो । जसमा २० हजार कित्ता भने सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ ।
बैंकले बिक्रीमा ल्याउन लागेको ऋणपत्रमा इच्छुक आवेदकहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र खरिद गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशतका दरले ब्याज पाउनेछन् । ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ ।
बैंकको ऋणपत्रमा छिटोमा माघ २६ गतेसम्म र सो अवधिमा सबै ऋणपत्र खरिदको लागि आवेदन नपरेको खण्डमा फागुन ६ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था छ ।
बैंकको ऋणपत्रमा आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो शेयरबाट समेत आवेदन दिन सकिनेछ ।
ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा बैंकलाइ केयर रेटिङ्ग नेपालले केयर आइआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ ।


