एनएमबि लघुवित्तको नाफा ५७ प्रतिशतले बढ्यो |
काठमाडौं । एनएमबि चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजानिक गरेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा लघुवित्तले ७ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा ४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले समीक्ष अवधिमा ५७ प्रतिशतले बढाएको हो ।
लघुवित्तको खुद ब्याज आम्दानी बढ्दा उसको खुद नाफामा सुधार भएको हो ।
यस अवधिमा लघुवित्तले २१ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा उसले १३ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
लघुवित्तले निक्षेप र कर्जा लगानी पनि बढाउदै लगेको छ। समीक्ष अवधिमा निक्षेप संकलन १ अर्ब ३१ करोड रुपैयाँबाट बढेर १ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३ अर्ब ४७ करोड रुपैयाँबाट बढेर ४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
लघुवित्तले पूँजी २१ करोडबाट बढाएर ५३ करोड ९८ लाख पुर्याएको छ भने जगेडा कोषमा २ करोड ४३ लाख रुपैयाँ रहेको छ ।
लघुवित्तको खराब कर्जा भने ह्वातै बढेको छ । गत वर्षको दोस्रो त्रैमाससम्ममा २.८२ प्रतिशत रहेको खराब कर्जा बढेर ४.६५ प्रतिशत पुगेको छ । लघुवित्तले आगामी दिनमा खराब कर्जा नियन्त्रणमा भने ध्यान दिनुपर्ने देखिन्छ ।
पूँजी बढाए अनुसार नाफा कमाउन नसक्दा प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ६० पैसाबाट घटेर २८ रुपैयाँ ५६ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ७ पैसा र मूल्य आम्दानी अनुपात ३९.८५ गुणा रहेको छ ।


