गरिमाको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति? |
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा बढेको छ ।
सो अवधिसम्ममा बैंकले ३९ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानीसँगै अन्य सञ्चालन आम्दानी बढेपछि बैंकको नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २५ करोड २३ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.५२ प्रतिशत बढेर ८४ करोड २६ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २०.९१ प्रतिशत बढेर ५६ करोड २२ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी ६८ लाख २६ हजार रुपैयाँबाट बढेर २१ करोड २८ लाख रुपैयाँ पुगेको छ ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ।गत आर्थिक वर्षको अन्त्यसम्ममा २० रुपैयाँ १० पैसा रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २४ रुपैयाँ ३१ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ७ पैसा पुगेको छ ।
पुस मसान्तसम्ममा चुक्ता पूँजी ३ अर्ब २३ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ८३ करोड ३९ लाख रुपैयाँ, शेयरधनी कोषमा ७२ करोड २६ लाख रुपैयाँ र शेयर प्रिमियममा ९ करोड ७० लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी त्यती नै हुँदा जगेडा कोषमा ६३ करोड ७५ लाख रुपैयाँ, शेयरधनी कोषमा ४७ करोड ३ लाख र शेयर प्रिमियममा ९ करोड ७० लाख रुपैयाँ थियो ।
पछिल्लो ६ महिनामा बैंकको निक्षेप ४२ अर्ब ४३ करोड रुपैयाँबाट बढेर ५३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, कर्जा ३४ अर्ब ८६ करोड रुपैयाँबाट बढेर ४४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । कर्जासँगै बैंकको निष्क्रिय कर्जा पनि बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ०.३९ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ०.९४ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिमा बैंकको बेस रेट १०.९५ प्रतिशतबाट ८.३८ प्रतिशतमा झरेको छ भने स्प्रेड रेट ५.२६ प्रतिशतबाट ४.९९ प्रतिशतमा झरेको छ ।


