सुपारीको पातबाट प्लेट बनाउने कोबितसिंह बानियाँले जिते ‘ग्लोबल स्टुडेन्ट आन्ट्रप्रेनर अवार्ड’ |
काठमाडौं । सुपारीको पातबाट प्लेट लगायत विभिन्न सामाग्री बनाउने संस्था लिफ प्लसका सह–संस्थापक कोबितसिंह बानियाँले ‘ग्लोबल स्टुडेन्ट आन्ट्रप्रेनर अवार्ड’ जितेका छन् ।
आन्ट्रप्रेनर अर्गनाइजेसनको नेपाल च्याप्टरले आइतबार भर्चुअल्ली गरेको कार्यक्रममा बानियाँलाई अवार्ड दिने घोषणा गरेको हो । उनलाई अन्तिममा छानिएका ५ जना मध्येबाट बिजयी घोषणा गरिएको थियो ।
उनले अवार्डसगैँ १ लाख रुपैयाँ नगद राशी पाउने भएका छन्। अब बानियाँले आन्ट्रप्रेनर अर्गनाइजेनले आयोजना गर्ने अन्तर्राष्ट्रियस्तरको प्रतिश्पर्धामा समेत भाग लिन पाउने छन् ।
कोरोना भाइरसको कारण अन्तर्राष्ट्रिय प्रतिश्पर्धा कहिले र कुन देशमा गर्ने टुङ्गो नलागी सकेको बानियाँले जानकारी दिए ।
‘त्यहाँ अवार्ड जितौला वा नजितौला त्यो आफ्नो ठाउँमा छ तर त्यो प्ल्याटर्फममा सहभागी गर्न पाउनु पनि हाम्रो लागि ठूलो कुरा हो,’ उनले भने ।
हाल उनको कम्पनीले थाल, चम्चा, काँटा, प्लेट, खण्डे थाल लगायत १९ वटा सामग्री बनाउँछ ।
कम्पनीले आफ्नो उत्पादन जर्मनी, बेलायत, अष्ट्रेलिया, जापान लगायतका देशमा निर्यात गरिसकेको र अरु देशमा पनि स्याम्पल पठाएको उनले जानकारी दिए ।



