निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउने जिम्मा भारतीय कम्पनी सिजी इन्फ्राटा पायो |
काठमाडौं । बाराको निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउने जिम्मा भारतीय कम्पनी सिजी इन्फ्राटाले पाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय कम्पनी सिजी इन्फ्राटारविडिए जेभीलाई गुरुयोजना बनाउने जिम्मा दिएको हो । प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवको आयोजना निर्देशनालयले उक्त जेभीसँग सम्झौता गरेको हो ।
सम्झौताअनुसार गुरुयोजना निर्माणको काम १३ महिनाभित्र सकिने छ । २९ करोड ८९ लाख ९० हजार ९ सय रुपैयाँमा काम गर्नेगरी कम्पनीसँग सम्झौता गरिएको निर्देशनालय प्रमुख प्रदिप अधिकारीले जानकारी दिए ।
गुरुयोजना बनाउने सम्बन्धमा परामर्शदाता नियुक्त भएपनि यो आयोजना निर्माणका लागि लगानी भने अहिलेसम्म निश्चित भएको छैन । सरकारले आयोजना गरेको लगानी सम्मेलनमा जुरिच इन्टरनेशनलले लगानी गर्ने इच्छा देखाएको थियो । हालैमात्र उक्त कम्पनीले लगानी गर्न असमर्थ रहेको सरकारलाई जवाफ दिएको छ ।
लगानी बोर्डले हालसम्म उक्त विषयमा कुनै निर्णय गरेको छैन भने सरकारले यसको लगानीको स्रोत कहाँबाट जुटाउने भनेर निर्णय पनि लिएको छैन ।


