नेपाल बैंकले पुस २९ मा डाक्यो एजीएम, १६ प्रतिशत लाभांश वितरण गर्दै |
काठमाडौं । नेपाल बैंकले पुस २९ गते वार्षिक साधारण सभा डाकेको छ । साधारण सभामार्फत १६ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पारित गर्ने भएको छ । बैंकले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । यस्तै, सर्वसाधारण समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।
बैंकले आर्थिक वर्ष २०७६∕७७ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । साधारण सभा बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । बैंकले भर्चुअल माध्यमबाट सभामा सहभागी हुन सेयरधनीहरुलाई आग्रह गरेको छ ।
साधारण सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज हुनेछ । पुस १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् । हाल नेपाल बैंकको चुक्ता पुँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २०० रुपैयाँ छ । प्रस्तावित लाभांश वितरणपछि पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँ पुग्नेछ ।



