आइएमई भरोसा कोषको रकम हस्तान्तरण सुरु, कोभिडबाट विदेशमा ज्यान गुमाउनेका परिवारलाई सहयोग |
काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ को रकम वितरण सुरू भएको छ।
कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो। शुक्रबार राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यकमकावीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले संयूक्त रूपमा काठमाडौंमा उपलब्ध आवेदकहरूलाई चेक हस्तान्तरण गरे। आइएमई पे वालेट मार्फत रकम भुक्तान लिन सक्ने व्यवस्था मिलाइएको कोषको सहयोग राशी पुस मसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिइएको छ ।
अध्यक्ष ढकालले कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा पीडामा केही सहयोग पुर्यााउन कोष स्थापना गरिएको बताए। समूहका प्रबन्ध निर्देशक हेमराज ढकालले निजी क्षेत्रबाट स्थापित यस कोषले प्रभावित परिवारलाई केही न केही सहयोग पुग्ने बताए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भरोसा कोष कोभिड–१९ ले विदेशमा मृत्यु भएका श्रमिकका नेपालमा हुने निकटका आफन्तलाई लाई मात्र भएको बताए। ब्राण्ड एम्बास्डर दीपकराज गिरीले दुखको बेलामा साथ दिने आइएमईको परम्परा स्मरण गर्दै यस्तो परोपकारी कार्यले संस्थालाई झनै मजबुत बनाउने बताए। ब्राण्ड एम्बास्डर दीपाश्री निरौलाले परिवारको लालनपालनका लागि विदेश गएका सदस्य गुमाउनु पर्दा बाँच्नेलाई हुने पीडालाई सम्झिएर आइएमईले कोष स्थापना गरेर ठूलो गुन लगाएको बताईन्।


