बिश्वभरबाट अनलाइनमार्फत श्रम स्वीकृति नवीकरण गर्न पाउने |
काठमाडौं । श्रमिकले अनलाइनबाटै पुनː श्रम स्वीकृति (रि–इन्ट्री) सुविधा लिन पाउने भएका छन् । आगामी साताबाट लागू हुने यो नियमपछि वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक लाभान्वित हुनेछन् ।
सरकारले अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने सुविधा दिने भएपछि त्यसका लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हट्नेछ । यो व्यवस्थाका लागि वैदेशिक रोजगार विभागले तोकेका पेमेन्ट गेट(वेमार्फत बीमा र वैदेशिक रोजगर कल्याणकारी कोषको रकम तिर्न सकिने छ। विभागले विभिन्न बिमा कम्पनी र पेमेन्ट गेट–वेसँग सम्झौता गरेको छ ।
आईएमई पे, ई(सेवा जस्ता गेटवेबाट श्रमिकले तोकिएका शुल्क भुक्तानी गर्न सक्नेछन् । त्यस्तो शुल्क भुक्तानी गरेपछि प्रणालीले श्रमिककै इमेलमा श्रम स्वीकृति नवीकरण भएको प्रमाणसहितको इमेल पठाउनेछ ।
वैदेशिक रोजगार विभागका प्रवक्ता टिकामणि न्यौपानेका अनुसार यो सँगै विदेशमा श्रम अवधि सकिएर वैधानिकताका लागि नेपाल नै फर्किनुपर्ने बाध्यता हट्ने बताए । श्रमिकले दुई पटकसम्म विदेशबाबाटै श्रम रि–इन्ट्रीको सुविधा पाउनेछन् ।
विदेशमा आफ्नो भिसा अवधि थपेर विदेशमा थप समय बस्नेहरुलाई अनलाइनमार्फत नै श्रमको रि–इन्ट्री गर्नसक्ने उनले बताए ।
केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमार्फत सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरेर दुई पटकसम्म कामदारलाई विदेशबाटै श्रम रि–इन्ट्रीको सुविधा दिन सकिने व्यवस्था गरेको थियो ।


