उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभा आजबाट शुरु हुँदै, शनिबार चुनाव |
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष सहित तीन उपाध्यक्ष र ६० अन्य कार्यकारिणी सदस्यहरु गरि कुल ६४ पदका लागि निर्वाचन हुदैछ । प्रारम्भिक चरणमा कुल ६४ पदका लागि १२७ जनाले आंकक्षा देखाए पनि अन्तिम समयमा ४ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेपछि र २ जना निर्विरोध हुदा अहिले बाँकी ६२ पदका लागि १२१ जना चुनावी मैदानमा छन् ।
जस मध्यबाट १ वरिष्ठ उपाध्यक्ष, ३ विषयगत उपाध्यक्ष, ७ प्रदेश प्रतिनिधि सदस्य, १८ जिल्ला/नगर सदस्य, १४ वस्तुगत संघ सदस्य, १९ एशोसिएट सदस्य, २ द्विराष्ट्र सदस्य र १ संस्थापक सदस्य गरी कुल ६४ पदाधिकारी निर्वाचित भएर आउने छन् ।
अध्यक्षमा भने हालका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधानका कारण हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नै ५४औं साधारणसभा पश्चात् महासंघको अध्यक्ष बन्ने छन् ।
१ हजार १ सय ५७ जनाले मतदान गर्ने
महासंघको नेतृत्व चयनका लागि ६२ पदका लागि १२७ जना चुनावी मैदानमा लडिरहँदा कुल ६२ पदका लागि १ हजार १ सय ५७ जनाले मतदान गर्ने भएका छन् ।
महासंघको निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार १ हजार १ सय ५७ जना मतदाहरुको नाम भोटिङ लिस्टमा सूचीकृत भएको छ । जसमध्य जिल्ला र नगर तर्फबाट १०७, वस्तुगत तर्फबाट १०३ , एशोसिएट तर्फबाट ९२३ मतदाताहरु रहेका छन् ।
त्यस्तै, द्विराष्ट्रियबाट १२ र संस्थागत तर्फबाट पनि १२ गरी कुल १,१५७ मत रहनेछन् । यद्यपि यो नै अन्तिम मत रहने वा नरहने निश्चित छैन । निर्वाचन अधिकृत पौडेलका अनुसार मतदाताहरुको नामावली अन्तिम पटक अद्यावधि गर्दा यो संख्या घट्न पनि सक्छ । समितिले बिहीबार बिहानसम्म मतदाताको अन्तिम नामावली अद्यावधि गरी प्रकाशित गर्दैछ । जसमध्ये एसोसिएटतर्फका १२ देखि २० मतदाता रद्द हुने सम्भावना रहेको पौडेलले बताए ।
‘अहिलेसम्म हामीसँग भएका लिस्टेड मतदाताहरुको नामावली अनुसार सबै समूहमा गरी कुल १,१५७ मत हो । तर यो नै अन्तिम मत भने होइन । यसमा केही मत घट्न पनि सक्छन् ।’
निर्वाचन अधिकृत पौडेलले भने, ‘मर्जरमा गएका वा अस्तित्वमै नभएका कम्पनीको मताधिकार रद्द हुन सक्छ । यसले केही मतदाता संख्या घट्न सक्छ । के कति घट्छन् त्यो भने बिहीबार बिहान प्रकाशित हुने अन्तिम नामावली पछि मात्र थाहा होला’ पौडेलले भने ।
पौडेलका अनुसार यस्तो संख्या एशोसिएट समूहबाट १५–२० वटा सम्म घट्न सक्छ ।
यता मतदान प्रक्रियामा भने जुन समूहको निर्वाचन हो सोही समूहका सदस्यले मात्रै समूहगत रुपमा उठेका उम्मेदवारलाई मतदान गर्न पाउँछन् । तर वरिष्ठ उपाध्यक्षलाई भने सबैले मत दिन पाउने व्यवस्था गरिएको छ ।
निर्वाचनका लागि ५ किसिमको मतपत्र
निर्वाचनका लागि समितिले ५ किसिमको मतपत्रको व्यवस्था गरेको छ । छुट्टाछुट्टै ५ रङ्गमा उपलब्ध हुने मतपत्र विषयगत उम्मेदवारका छुट्टाछुट्टै पदका लागि प्रयोग गर्ने तयारी गरिएको समितिले जनाएको छ । तर कुन रङ्गको मतपत्र कसका लागि हुने भन्ने यकिन भइसकेको छैन । यसको निर्क्यौल बिहीबार मात्रै हुने निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए ।
महासंघको नेतृत्वका लागि दुई प्यानमा हुँदै गरेको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान भिड्दै छन् भने, जिल्ला÷नगर तर्फ दिनेश श्रेष्ठ र गुणनिधि तिवारी, वस्तुगत संघतर्फ पुष्पलाल श्रेष्ठ र अन्जन श्रेष्ठ र एशोसिएट तर्फ सौरभ ज्योति र रामचन्द्र संघाई भिड्दै छन् ।


