नेपाल–भारत फ्रेन्चाइज एक्स्पो सम्पन्न |
काठमाडौं । नेपाल–भारत फ्रेन्चाइज एक्स्पो सम्पन्न भएको छ । दुई देशबीच लगानी प्रविधि एवं व्यावसायिक मोडलहरू आकर्षित गर्ने उद्देश्यले पहिलोपटक भर्चुअलका माध्यमबाट नेपाल भारत फ्रेन्चाइज एक्सपो, अवार्ड र समिट आयोजना भएको थियो । याे एक्स्पाे कात्तिक १७ देखि कार्तिक १९ गतेसम्म चलेकाे थियाे ।
तीनदिने सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रान्चाइज डट कमको साझेदारीमा नेपालस्थित भारतीय राजदूतावासले आयोजना गरेको हो ।
सम्मेलनमार्फत नेपाल तथा भारतका प्रसिद्ध ब्रान्डहरू र अवलोकनकर्ताहरूलाई एउटै छानामुनी ल्याई दुवै देशका एक सयभन्दा बढी प्रतिष्ठित ब्रान्डहरूले आफ्ना अवसरहरूको प्रदर्शनी गरेका थिए ।
सम्मेलनलाई दुई हजारभन्दा बढी योग्य लगानीकर्ताहरूले फ्रेन्चाइज, डिलरसिप तथा अनुमतिपत् रलगायतमा व्यावसायिक अवसरहरू खोज्ने महत्वपूर्ण माध्यमका रूपमा उपयोग गरी लाभ उठाएको पाईएको छ ।
कार्यक्रमको पहिलो दिन, नेपालस्थित भारतीय राजदूत महामहिम विनय मोहन क्वात्रले उद्धघाटन गरेका थिए भने एफएनसीसीआईका अध्यक्ष भवानी राणाले स्वागत गरेकी थिइन् ।
यसका साथै नेपालका गभर्नर महाप्रसाद अधिकारी, उद्योगमन्त्री लेखराज भट्ट, राज्य मन्त्री मोतीलाल दुगड, वरुण चौधरी, कार्यकारी निर्देशक सीजी कर्प ग्लोबल, खपिडवाजा प्रताप सिंह, नेपाल फ्रान्चाइजका संस्थापक र सीईओ दिवेश बोथराले सम्बोधन गरेका थिए ।
दोस्रो सत्रमा विभिन्न विषयमा प्यानल छलफल भएको थियो । कार्यक्रमका थप दुई दिन, भारत र नेपालका प्रमुख ब्रान्डहरूले भर्चुअल स्टालहरूका मार्फत प्रदर्शनीको साथसाथै फ्रन्टिसाइज अन्तर्क्रिया सत्रहरू, विभिन्न व्यापारिक विचारहरूका छलफल सहित सम्भावित उद्यमीहरूको लागि संचालन गरिएको थियो ।
यो सम्मेलनलाई नेपाल र भारतबीच लगानी प्रवर्धन, स्थापित स्टार्टअपहरू तथा फ्रेन्चाइज आदानप्रदानको महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ ।


