सुनको मूल्य एकैदिन बढ्यो तोलामा ९ सय रुपैयाँ |
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड पार गरेपछि तल झर्दै पुनः उकालो लाग्न थालेको छ । नेपाली बजारमा पनि सुनको मूल्यले यो लय पछ्याएको छ ।
नेपाली बजारमा तोलाको एक लाख तीन हजार रुपैयाँसम्म पुगेर ९० हजार नजिक झरिसकेको सुनको मूल्य गत आइतबारयता भने लगातार वृद्धि भएको छ ।
गत हप्ता तोलाको ९४ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य आइतबारदेखि तीन दिनमै बढ्दा कुल १८ सयले वृद्धि भइसकेको छ । सोमबार भने सुनको मूल्य स्थिर रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबारका लागि छापावाल सुनको बजार मूल्य ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य छापावालको भन्दा तोलामा पाँच सय रुपैयाँ कम हुने गरेको छ ।
मंगलबारको तुलनामामा सुनको मूल्य क्रमिक रूपमा बढ्न थालेको छ। अघिल्लो दिनको भन्दा तोलामा ९ सय रुपैयाँ बढेको हो । यसअघि मंगलबार सोमबारको भन्दा ४ सय रुपैयाँले दाम बढेको थियो। साताको पहिलो कारोबार दिन आइतबार पनि तोलामा पाँच सय रुपैयाँले बढेर ९५ हजार पुगेको थियो ।
चाँदी भने मंगलबारको भन्दा तोलामा ५ रुपैयाँले सस्तिएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८९९.७९ डलर र चाँदी प्रतिऔंस २३.८४ डलरमा कारोबार भएको छ।




