मंसिरदेखि मात्रै विदेशी पर्यटकलाई नेपाल आउन खुला, सात दिन क्वारेन्टिनमा बस्नु नपर्ने |
काठमाडौं । सरकारले मंसिरदेखि मात्रै विदेशी पर्यटकलाई नेपाल आउन खुला गर्ने भएको छ । यसअघि सरकारले कात्तिकमै पर्यटकलाई नेपाल आवागमन खुला गर्ने तयारी गरेको थियो । पर्यटकलाई एक साता क्वारेन्टिनमा राख्ने निर्णयप्रति व्यवसायीले आपत्ति जनाएपछि मापदण्ड परिवर्तन गरेर मंसिरदेखि खोल्ने तयारी भएको पर्यटन मन्त्रालयका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार क्वारेन्टिन र भिसा प्रक्रिया पुनरावलोकन गर्न सीसीएमसीमा प्रस्ताव पठाइएको छ ।
विदेशी पर्यटकलाई नेपाल आएपछि अनिवार्य सात दिन क्वारेन्टिनमा बस्नुपर्ने मापदण्ड परिवर्तन गर्दै मंसिरबाट खोल्ने तयारी सरकारले गरेको हो ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)का अध्यक्ष अच्युत गुरागाइँले पिसीआर परीक्षणका आधारमा विदेशी पर्यटकलाई नेपाल आउन दिने र क्वारेन्टिनमा बस्नु नपर्ने प्रावधान ल्याउन लागिएको बताएका छन् ।



