सरकार र डा.केसी पक्षबीचको हुनै लागेको सहमति भाँडियो |
काठमाडौं । सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीचको हुनै लागेको सहमति भाँडिएको छ । शुक्रबार साँझ ९ बजेदेखि सिंहदरवारमा बसेको वार्ता निष्कर्षविहीन भएको हो ।
डा.केसीको जीवन रक्षाका लागि सरकारले बेवास्ता गरेको र अन्त्यमा वार्ता निष्कर्षविहीन भएको डा.केसीका पक्षबाट वार्ता टोलीका संयोजक डा.जीवन क्षेत्रीले जानकारी दिए । डा.क्षेत्रीले भने, ‘सरकारको नियत डा.गोविन्द केसीको जीवन गए जाओस् भन्ने जस्तो देखियो, अन्तिममा आएर शिक्षामन्त्रीले नै बेवास्ता गरिदिनुभयो ।’
यसअघि बिहीबार पनि सरकार र डा.केसी पक्षबीच वार्ता भएको थियो । अन्ततː बिहिबार र शुक्रबारको वार्ता असफल भएको डा.क्षेत्रीले जानकारी दिए । दुवै पक्षबीच सहमतिका लागि मस्यौंदा तयार भएकाले शुक्रबार सहमति हुन सक्ने अपेक्षा गरिए पनि वार्ता सफल हुन सकेन । शुक्रबार बिहानै वार्तामा बस्ने भनिएपनि बेलुका ९ बजे मात्र वार्ता सुरु भएको थियो । डा. केसी २६ दिनयता अनसनमा रहेका छन् । उनको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

