नयाँ हवाई ‘इन्ट्री प्वाइन्ट’बारे नेपाल–भारतबीच छलफल |
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच नयाँ हवाई प्रवेश बिन्दु उपलब्ध गराउने सन्दर्भमा छलफल भएको छ ।
मन्त्री भट्टराईको सचिवालयका अनुसार भैरहवा नाकावाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्याउनेबारे शुक्रबार छलफल भएको छ ।
कोभिड–१९ का कारण वन्द रहेको काठमाडौ र भारतका विभिन्न शहरहरुवीचको उडान सुरु गर्ने सम्बन्धमा समेत छलफल भएको छ । पर्यटन मन्त्रालयले १ कार्तिकबाट भारतमा उडान खोल्ने प्रस्ताव गरिसकेको छ ।
सचिवालयका अनुसार पशुपति, लुम्विनी र जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे छलफल भएको छ ।
मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यन्वयनमा ल्याउन दुवै देश सकारात्मक रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।
भेटमा मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन, तथ नागरिक उडड्यनको क्षेत्रमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।
राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकरात्मक रहेको जनाउँदै कोभिड(१९ का कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।



