व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण, ‘स्वास्थ्यमा समस्या छैन’ |
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
आइतबार गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको उपाध्यक्ष ढकालले जानकारी दिएका छन् । कोभिड पोजेटिभ देखिए पनि आफ्नो स्वास्थ्यमा कुनै पनि समस्या नभएको उनले बताए ।
‘मैले आइतबार पिसीआर परीक्षण गर्न स्वाब दिएको थिएँ । सोमबार बिहानै पोजेटिभ रिर्पोट आयो,’ उनले भने, ‘हाम्रो सबै परिवारको परीक्षण गर्दा अरु सबैको नेगेटिभ रिर्पोट आएको छ ।’
ढकालले जनस्वास्थ्यका मापदण्डहरु पालना गरेर सतर्कता र सजगता अपनाउँदा समेत पोजेटिभ देखिएको बताउँदै आफ्नो सम्पर्कमा रहेका सबैलाई सुरक्षित र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन् । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेका छन् ।



