पूर्वाधार विकास र वैदेशिक लगानी नेपाल भित्र्याउन सहयोग गर्छु ː नवनियुक्त राजदूत सुक |
काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क पार्क योङ सुकले आफ्नो कार्यकालमा जलविद्युतलगायत पूर्वाधारको विकास, वैदेशिक लगानी विस्तार व्यापार घाटा घटाउने विषयमा कार्य गर्ने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ र पदाधिकारीसँगको छलफलमा सुकले जलविद्युतलगायतका पूर्वाधारको विकास, वैदेशिक लगानी विस्तार, व्यापार घाटा घटाउने विषयमा र वैदेशिक रोजगारीका लागि सरल तथा सहज व्यवस्थाको लागि कार्य गर्न बताएका हुन् ।
साथै सुकले कोभिड १९ बाट कुनै मुलुक पनि अछुतो नरहेको भन्दै यसले विश्व अर्थतन्त्र नै प्रभावित भएको बताए ।
सोही अवसरमा नेपाल चेम्बरका अध्यक्ष श्रेष्ठले नव नियुक्त राजदूत सुकलाई स्वागत तथा कार्यकालको शुभकामना दिँदै दक्षिण कोरियासँग कुटनीतिक सम्बन्ध स्थापना भएपछि व्यापार, लगानी, पर्यटन प्रवर्द्धनमा उल्लेख्य विकास भएको व्यक्त गरे । यसैक्रममा श्रेष्ठले नेपालबाट दक्षिण कोरियासँग व्यापार घाटा प्रत्येक वर्ष बढ्दै सन् २०१७र२०१८ मा निर्यात केवल १६ लाख अमेरिकी डलर बराबर भएको र आयात करिब पौने १० करोड भएको उल्लेख गरे ।
दुवै देशबीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्नका लागि नेपाल चेम्बर र कोरिया चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। त्यस्तै पर्यटन प्रवर्द्धन, व्यापारिक प्रतिनिधीमण्डलको आदान प्रदान, सीप विकास र प्रशिक्षण, कृषि क्षेत्रको विकास र कोभिड १९ पछिको आपसी सहयोग आदी क्षेत्रहरूमा कोरियाबाट सहयोग र प्राविधिक सहायता आउने अपेक्षा अध्यक्ष श्रेष्ठले गरे ।
सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल तथा उपाध्यक्ष दीपककुमार मलहोत्रासमेतको उपस्थिति रहेको थियो ।


