ग्यापुले दशैंमा लोकल खसी, कुखुरा र हाँसको होम डेलिभरी गर्ने, बुकिङ सुरु |
काठमाडौं । नेपाली इकमर्श कम्पनी ग्यापु डट कमले दशैंलाई लक्षित गरि लोकल खसी, कुखुरा र हाँस होम डेलिभरि गर्ने भएको छ ।
चेन रेस्टुरेन्टमा लोकप्रिय बाजेको सेकुवासँगको समन्वयमा जिउँदै, खुइल्याएको र काटेर टुक्रा गरि उपभोक्ताको मागअनुसार होम डेलिभरी गर्ने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए ।
साथै ग्यापुले दशैंमा पचास लाख बढीको उपहार, क्यास ब्याक, छुट र बम्पर अफर ल्याउने खड्काको दाबी छ ।
‘अधिकाशं मानिसहरु खसी किन्दा रङ, सिङ हेरेर र तौल जोखेर लिने गर्छन्,’ उनले भने, ‘हामी यो कुरालाई पनि सहज बनाउँदै छौँ, सामाजिक सञ्जाल मार्फत भिडियो कल गरेर उपभोक्तालाई देखाएर रोजेको खसी डेलिभरी गर्दैछौं ।’
दशैंमा उपत्यकामा तीन हजार खसी बेच्ने उदेश्यले ग्यापुले खसीको प्रिबुकिङ पनि सुरु गरिसकेको छ । उपभोक्ताले अहिलेनै खसी घरमै लगेर पाल्ने भए पनि होम डेलिभरी गरिने खड्काले बताए ।
होम डेलिभरी सेवा भरपर्दो भएकोले समन्वय गरि काम गरेको बाजेको सेकुवाका संचालक चेतन भन्डारी बताउँछन् ।
ग्राहकले सामान खरिद गर्दा फोनपे, कनेक्ट आइपिएस, सेल पे, इ–सेवा, खल्ती, आइएमइ पे, प्रभु पेबाट भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध छ ।
साथै ग्राहकले डेलिभरीको समयमा नगद पनि दिन सक्नेछन्। डेलिभरीको भने शुल्क लाग्ने छैन ।


