भारतका लागि पब्जीको फ्रेन्चाइजी चिनियाँ कम्पनी टेन्सेन्टबाट खोसियो |
कोरियन गेमिङ कम्पनी पब्जी कर्पोरेशनले पब्जी मोबाइल गेमको भारतीय बजारमा पब्लिश अधिकार चिनियाँ कम्पनी टेन्सेन्टबाट खोसिदिएको छ।
भारतले ११८ चिनियाँ एप्लिकेशनमाथि प्रतिबन्ध लगाएसँगै पब्जी पनि उक्त सूचीमा परेको थियो । भारतको यो निर्णयपछि कोरियन कम्पनीले भारतीय बजारमा रिलिज गर्ने अधिकार चिनियाँ कम्पनीबाट खोसेको हो ।
'पछिल्लो घटनाक्रमपछि पब्जी कर्पोरेशनले पब्जी मोबाइल गेमको फ्रेन्चाइजी भारतीय बजारका लागि टेन्सेन्टसँग नरहने निर्णय गरेको छ' कम्पनीले आफ्नो ब्लगमा उल्लेख गरेको छ ।
यो निर्णयसँगै उक्त गेमको भारतीय बजारमा सम्पूर्ण जिम्मा आफै लिने कम्पनील घोषणा गरेको छ ।
' यो गेमको सबै पब्लिशिङ दायित्व हामी आफै लिने छौं । भारतीय गेमिङ प्रयोगकर्ताका लागि अझ उन्नत अनुभव दिन प्रयास गर्ने छौ' कम्पनीले ब्लगमा उललेख गरेको छ ।
पब्जी मोबाइल गेमको विकास तथा सबै प्याटेन्ट राइट आफूहरुसँगै रहेको र भारत सरकारको निमय कानून पूर्ण पालना गर्दै प्रयोगकर्तालाई गेमिङ अनुभव दिने कम्पनीले प्रतिबद्धतता जनाएको छ ।


