देशभर ९८० जनामा कोरोना संक्रमण पुष्टि, १८१४ जना डिस्चार्ज |
काठमाडौं । पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो ।
हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ३५४ जनासहित देशभर ९८० जना संक्रमित थपिएको र यससँगै संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८१४जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २८ हजार ९४१ पुगेको छ ।
गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ र होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका छन् ।
यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ । मन्त्रालयका अनुसार आइतबार थप ९ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या २८९ पुगेको हो ।


