त्रिकोण वेभरेजको आक्वा ९९ पानीका जार र प्रशोधनको गुणस्तरमा त्रुटी, उत्पादन बन्द गर्न निर्देशन |
काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र त्रिकोण वेभरेजले उत्पादन गरेको आक्वा ९९ व्राण्डको पानी प्रशोधन र जारको गुणस्तरमा त्रुटी भेटाएको छ ।
गत वर्ष फागुनमा खाद्य तथा गुण नियन्त्रण कार्यालयसहितको अनुगमनका क्रममा उत्पादन बन्द गर्न निर्देशन दिइएको थियो । तर, रोक लगाइएको आक्वा ९९ ब्राण्डको पानी उत्पादन तथा बिक्री वितरण नियमित भएको भेटिएको हो ।
महानगरको उपभोक्ता हित संरक्षण समितिले औद्योगिक क्षेत्रमा उत्पादन हुने खाद्य, पानी र दूग्ध पदार्थको अनुमगन गर्दा यस्तो त्रुटी भेटाएको हो । खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बेभरेजले उत्पादन गर्ने पानीको गुणस्तर नपुगेको बताए ।
’गुणस्तर नपुगेकोले हामीले गएको फागुन महिनामा भएको अनुगमनकै क्रममा उत्पादन रोक्न भनेका थियौं’, उनले भने । बेभरेजका सञ्चालक सुरेन्द्र श्रेष्ठले भने अनुमति लिएरै चलाएका दाबी गरेका छन् । तर, उनले कागजपत्र भने देखाउन नसकेको सुवेदीले बताए ।
बेभरेज जमिनमुनिको पानी लिएर प्रशोधन गरेर बिक्री गर्ने गरेको छ । अनगुमन टोलीले परीक्षणका लागि यस बिभरेजबाट पानीको नमूना संकलन गरेको छ । यसैगरी जय हनुमान फुड प्रा. लि. बाट उत्पादन हुने ६ सय ६६ व्राण्डको आँटा र मैदाको नमूना पनि लिएको छ ।
महानगरको कृषि बिभागको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, पशु सेवा बिभाग, उपभोक्ता अनुसन्धान मञ्चका पदाधिकारीहरुको उपस्थिती थियो ।
Visited 2 times, 1 visit(s) today


