देशभर थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि, ४ वर्षीया बालिकासहित थप ७ जनाको मृत्यु |
काठमाडौं । पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये २९८ जना काठमाडौं उपत्यकाका छन् ।
यससँगै संक्रमित हुनेको संख्या ३९ हजार ४६० पुगेको छ । उनीहरुमध्ये २१ हजार ४९० जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ५८८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
७ जनाको मृत्यु
नेपालमा कोरोना भाइरसबाट एक ४ वर्षीया बालिकासहित थप ७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बालिकासहित ३ महिला र ४ पुरुष गरी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको हो । महोत्तरीमा ४ वर्षीया बालिकाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । यस्तै गोरखामा ६५ वर्षीया र रुपन्देहीमा ६८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी झापा ८६ वर्षीय, रौतहटमा ४० वर्षीय, चितवनमा ७८ र भक्तपुरमा ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।


