व्यवसायी रुप ज्योतिलाई फेरि लाग्यो ठगीको आरोप, बैना लिएर जग्गा नदिएको भन्दै उजुरी |
काठमाडौं । पूर्वअर्थ सहायकमन्त्री एवं व्यवसायी डा. रुप ज्योतिलाई पुनː ठगीको आरोप लागेको छ ।
यसअघि गत कात्तिकमा घरजग्गा सम्बन्धी यस्तै मुद्दामा रुप ज्योति प्रकाउ परेका थिए । विजेन्द्र मल्लले रुप ज्योतिको कम्पनी ल्याण्डमार्क प्रालिले बैना गरेको घर नदिएको भन्दै ठगीको मुद्दामा प्रकाउ गरेको थियो । पछि पैसा तिर्न तयार भएपछि डा ज्योति छुटेका थिए ।
यो पटक पनि उनले बैना गरिसकेर जग्गा नदिएको आरोप भक्तपुरका सुरेन्द्र ताम्राकार र राजेश चिकबन्जारले लगाएका छन् । ताम्राकार र चिकबन्जार गत साउन २९ गते उजुरी बोकेर महानगरीय प्रहरी परिसर ललितपुर पुगेका थिए । उजुरीमा रुप ज्योतिले ग्वार्कोमा रहेको जग्गा बिक्री गर्ने भनेर बैना लिएका तर जग्गा पास नगरी अर्कैलाई बिक्री गरेको उल्लेख छ ।
यद्यपि प्रहरीले किटानी जाहेरी भने दर्ता गरेको छैन । प्रहरीले सरकारी वकिलकको राय लिएर मात्रै जाहेरी दर्ता गर्ने जनाएको छ ।
डा. रुप ज्योतिले भदौ १८ गतेसम्ममा व्यवहार मिलाउने भन्दै प्रहरीकहाँ जाहेरी नदिन आग्रह गरिरहेका छन् । तर, पीडित पक्षले भने पटकपटक धोका दिएको भन्दै अब कानूनी लडाइँ लड्ने जवाफ दिएका छन् ।
यस्तो थियो घटना
भक्तपुरका सुरेन्द्र ताम्राकार र राजेश चिकबन्जारले ग्वार्को क्षेत्रमा जग्गा खोज्ने क्रममा उनीहरुको डा. रुप ज्योतिको जग्गाको कारोबार हेर्ने आशाकाजी महर्जनसँग भेट हुन्छ । स्याकार कम्पनीको नाममा तत्कालिन ललितपुर उपमहानगर पालिका वडा नम्बर ६ को कित्ता नम्बर १४२९,१४३५,१६५० को कुल २ रोपनी १२ आना ३ पैसा जग्गा प्रतिआना १६ लाख रुपैयाँको दरले खरिद गर्ने भनेर बैना भएको थियो ।
२०७५ सालको असार १९ गते बैना भएको दाबी सुरेन्द्र र राजेशको रहेको छ । त्यसपछि आशाकाजी महर्जनले रुप ज्योतिकोमा पुर्याएपछि २०७५ भदौ २९ गते थप ३६ लाख रुपैयाँ दुबै जनाले डा. रुप ज्योतिको अगाडि बैना हुन्छ । त्यसपछि थप ५१ लाख रुपैयाँ गरेर ८९ रुपैयाँ बैनाबापत दुबै जनाले ज्योतिलाई दिन्छन् ।
बैना गर्दा २०७५ साल पुस १८ सम्म जग्गा पास गरिदिनुपर्ने शर्त थियो । समयमा पास नभएपछि दुबै जनाले डा रुपज्योतिलाई भेट्दा आशाकाजीले मिलाउँछन् भन्ने जवाफ दिन्छन् ।
त्यसपछि आशाकाजीले परिवारभित्र सम्पत्तिको विवाद नमिलेको जानकारी दुवैलाई दिन्छन् । तर, सो जग्गा स्याकार प्रालिबाट नेपाल जनरल मार्केटिङको नाममा २०७५ मंसिर २७ गते पास भएको हुन्छ । त्यसपछि सो जग्गा नेपाल जनरलबाट डा रुप ज्योतिको नाममा २०७५ पुस २९ गते हस्तान्तरण भएको देखिन्छ ।
त्यसपछि डा ज्योतिले आफ्नो नाममा ल्याएको सो जग्गा २०७५ चैत २४ मा प्राइम क्यापिटल अफेयर्सको नाममा पास भएको देखिन्छ । यसरी डा ज्योतिले परिवारभित्र मिलेको छैन भनेर दुबैजनालाई झुलाउने काम गरेको देखिन्छ ।
डा ज्योतिले जग्गा आफ्नो स्वामित्वमा ल्याएको कुरा आफुहरुले अहिलेमात्र थाह भएको दाबी सुरेन्द्र र राजेशको छ ।
यसरी कम्पनीको स्वामित्वमा रहेको जग्गा रुप ज्योतिले अत्यन्तै न्यून मूल्यमा आफ्नो निजी स्वामित्वमा ल्याई मोटो रकम राजस्व छली गरेको भन्दै अनुसन्धान गरी कारबाही गर्न मागसमेत गरिएको छ । किनभने कम्पनीले जग्गा कारोबार गर्दा २५ प्रतिशत राजस्व तिर्नुपर्छ भने व्यक्तिले गर्दा ५ प्रतिशत मात्रै ।
परिवारभित्रै लडाइँ
गत असार २५ गते डा. रुप ज्योति आफ्ना भतिजाद्धय सौरभ र शुहृत ज्योतिले आफूलाई ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखा काठमाडौमा उजुरी बोकेर पुगेका थिए । पारिवारिक लेनदेन भएको भन्दै प्रहरीले उजुरी लिएन ।
रुप ज्योतिले भने आफ्नो नाममा भएको भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्सबाट हुने ट्याक्टरको डिलर भाजुरत्न प्रालि नामक अर्को कम्पनी खोलेर भजिज शुहृतले व्यापार हडपेको आरोप लगाएका थिए ।
विवाद बढ्दै गएपछि गत बैशाख १० गते कम्पनीको विशेष साधारणसभा गरेर पद्म ज्योतिका भाई रुप ज्योतिले सञ्चालक समिति पुनर्गठन गरी आफू अध्यक्ष भए ।
साधारणसभाले गरेको निर्णयको माइन्यूट कम्पनी रजिष्ट्रारको कार्यालयको अनलाइन सेवामा अपलोड पनि गरे । कम्पनी रजिष्ट्रारको कार्यालयले उक्त निर्णयलाई सदर पनि गरिदियो । विवाद झन् झन् बढ्दै गयो ।
बहुमतको आडमा रुप ज्योतिको परिवारले अध्यक्ष रहेका पद्म ज्योतिलाई थाहै नदिई गत बैशाख १० गते विशेष साधारणसभमार्फत् सञ्चालक समितिको पुनर्गठन तथा अध्यक्ष परिवर्तन गर्यो ।
उक्त साधारणसभा गैरकानूनी भएको भन्दै पद्म ज्योतिले कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिए । उजुरी उपर रजिष्ट्रारको कार्यालयलले अध्ययन अनुसन्धान गर्यो । र, कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालयले विशेष साधारणसभाको प्रक्रिया नपुगेको भन्दै बैशाख १० गते भएको भनिएको विशेष साधारणसभा र त्यसका निर्णयहरु कार्यान्वयन नगर्न भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्सलाई साउन १८ गते निर्देशनसहितको पत्र पठाएको छ ।
को हुन् डा. रूप ज्योति ?
सन् १९४० मा मणिहर्ष ज्योतिले ज्योति समूह स्थापना गरे । सोही समूहका उपाध्यक्ष हुन् डा. रूप ज्योति । ज्योति समूह अहिले व्यापार, उद्योग, सेवा र लगानी क्षेत्रमा संलग्न छ ।
सो समूहको अध्यक्ष अहिले डा. रूप ज्योतिका दाजु पद्म ज्योति छन् । डा. रूप ज्योति समूहको उपाध्यक्ष छन् । ज्योति समूहअन्तर्गत स्याकार कम्पनी, हिमाल आइरन एण्ड स्टील प्रालि, हिमाल वायर्स प्रालि, हिमाल अक्सिजन प्रालि, भाजुरत्न इञ्जिनियरिङ एण्ड सेल्स, स्यामुकापु, सुरुचि ट्राभल्स एण्ड टुर्स, हिमाल एजेन्सिज, ज्योति यार्न प्रोसेसिङ प्रालि र जय स्पिनिङ प्रालि छन् ।
यस्तै, सो समूह बुटवल पावर कम्पनी, सगरमाथा इन्स्योरेन्स कम्पनी र ग्राण्डी अस्पतालमा पनि संलग्न छ । डा. रूप ज्योतिका भतिज सौरभ ज्योति अहिले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य छन् ।
डा. रूप ज्योति अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका व्यक्ति हुन् ।
Visited 1 times, 1 visit(s) today


