विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या आठ लाख माथि |
विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ । रोयटर्सले उल्लेख गरेअनुसार अमेरिका, ब्राजिल र भारतमा दैनिक ज्यान गुमाउनेको संख्या सबैभन्दा उच्च छ ।
विगत दुई साताको तथ्यांक विश्लेषण गर्दा प्रत्येक २४ घण्टामा औसत पाँच हजार नौ सय मानिसको ज्यान गइरहेको छ ।
यसअनुसार प्रत्येक एक घण्टामा दुई सय ४६ जना र प्रत्येक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ ।
मृत्युदर स्थिर छ । १७ दिनमा एक लाखको मृत्यु भएको छ । यसअगाडि पनि यही अवधिमा एक लाख मानिसको ज्यान गएको रोयटर्सले जनाएको छ ।
अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार पार गरेको छ । जुलाईदेखि यता संक्रमितको संख्या लगातार कम भए पनि एक सातामा करिब तीन लाख ६० हजार संक्रमित भेटिएका छन् ।
विश्वको सबैभन्दा धेरै जनसंख्या भएको दोस्रो मुलुक भारतमा ५६ हजारको मृत्यु भएको छ । भारत अमेरिका र ब्राजिलपछि सबैभन्दा प्रभावित देश हो । भारतमा २८ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।
त्यहाँ मृत्युदर तुलनात्मक रुपमा कम छ । विश्वभर कोरोना संक्रमणको मृत्युदर ३.५ प्रतिशत छ, भारतमा यसको दर १.९ प्रतिशत छ ।
ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ लाख मानिस संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या एक लाख १४ हजारभन्दा बढी छ ।
अमेरिका र ब्राजिलमा मृत्युदर ३ प्रतिशत छ ।


