राष्ट्रिय बीमा संस्थानको खुद बीमाशुल्क सात अर्ब माथि |
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७ अर्ब ६ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधीको तुलनामा ७१ करोड ४ लाख रुपैयाँले बढी हो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा संस्थानले ६ अर्ब ३५ करोड ३८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
संस्थानले लगानी कर्जा तथा अन्य आयबाट एक अर्ब ९२ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै बीमालेख धितोमा लगानी ८६ लाख १ हजार लगानी गरेर १२ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा संस्थानले बीमाङ्कीय मूल्याङ्कन अघि ५ करोड ९० लाख ६५ हजार रुपैयाँँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा २० लाख ४२ हजार रुपैयाँले बढी हो ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा संस्थानले ५ करोड ७० लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थानको जीवन बीमा कोषको आकार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २६ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा कम्पनीको जीवन बीमा कोष २८.५५ प्रतिशत अर्थात ५ अर्ब ८९ करोड रुपैयाँले बढेको हो ।
संस्थानको जगेडा कोषमा अघिल्लो आर्थिक वर्षको चैत मसान्त सम्ममा २० अर्ब ६४ करोड ८९ लाख रुपैयाँ संचित थियो । चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ भएको संस्थानले जगेडा कोषमा पूँजीभन्दा धेरै २८ करोड ५८ लाख रुपैयाँ सञ्चित छ ।
नागरिक लगानी कोषले प्रदान गर्दै आएको सरकारी कर्मचारीको बीमा सेवा संस्थानलाई हस्तान्तरण भएकोले खुद बीमा शुल्क उल्लेख्य बढेको हो । संस्थानले राष्ट्र सेवक कर्मचारीहरुबाट ३ अर्ब २७ करोड बीमा शुल्क संकलन गरेको छ ।
निर्जीवन सेवा प्रदान गर्ने राष्ट्रिय बीमा कम्पनी नेप्सेमा सूचीकृत भएपनि जीवन सेवा प्रदान गर्ने राष्ट्रिय बीमा संस्थान भने नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छैन । पहिले एकै कम्पनी भएपनि राष्ट्रिय बीमा कम्पनी संस्थानबाट छुट्टिएको थियो ।


