बुद्ध नेपालमा जन्मेकोमा कुनै शंका छैन ː भारतीय विदेश मन्त्रालयल |
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरको गल्ती भारतीय विदेशमन्त्रालयले सच्याएको छ । विदेशमन्त्री जयशंकरले भगवान् गौतम बुद्ध भारतका नागरिक भएको विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यसको तीव्र विरोध भएपछि मन्त्रीको गल्ती मन्त्रालयले सच्याएको हो ।
’नेपालमा पर्ने लुम्बिनीमा गौतम बुद्ध जन्मिएकोमा कुनै शंका छैन,’ मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन् ।
शनिबार कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तक्रिया कार्यक्रममा बोल्दै भारतीय विदेशमन्त्री एस जयशंकरले संसारले सम्झिने दुई महान् भारतीयमा गौतम बुद्ध पनि एक भएको विवादास्पद अभिव्यक्ति दिएका थिए ।
भारतीय विदेशमन्त्रीको बुद्धबारेको पछिल्लो अभिव्यक्तिका विषयमा नेपालमा तीव्र विरोध भइरहेको छ । आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको यथेष्ट प्रमाण पनि भएको बताएको थियो ।
नेकपा विदेश विभाग प्रमुखसमेत रहेका पूर्वप्रधानमन्त्रीले विदेशमन्त्रीको सो अभिव्यक्ति तथ्यहीन र आपत्तिजनक भएको बताएका थिए । नेपाली कांग्रेसले पनि भारतीय विदेशमन्त्रीको बुद्धसम्बन्धी अभिव्यक्तिबारे आपत्ति जनाएको थियो ।


